दल

गठबन्धन गर्न कांग्रेस सिन्धुपाल्चोकले बनायो दुई वटा वार्ता समिति

इकागज |
चैत २२, २०७८ मंगलबार १७:१२ बजे

फाइल फोटो

काठमाडौँ - सिन्धुपाल्चोक कांग्रेसले अन्य दलसँग स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल गर्न समिति बनाएको छ । आज चौतारामा बसेको जिल्ला कार्यसमितिको बैठकले दुई वटा समिति बनाएको हो । 

`एउटा उच्च स्तरीय समिति छ, एउटा जिल्ला स्तरीय समिति छ, जिल्ला सभापति जगंबहादुर लामाले भने । 


उच्च स्तरीय समितिमा कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत, पूर्व केन्द्रीय सदस्य विष्णु विक्रम थापा, पूर्व जिल्ला सभापति विकास लामा, जिल्ला सभापति लामा रहेका छन् । 

यसैगरी जिल्ला स्तरीय नेताहरुसँग छलफल गर्न सभापति लामाको संयोजकत्वमा पदाधिकारीहरुसहित सभापतिका पतिस्पर्धी वंशलाल तामाङ समेत रहेका छन् । गठबन्धनका लागि सिन्धुपाल्चोक कांग्रेसले माओवादीसँग वार्ता पनि थालेको छ । 

सोमबार भएको वार्तामा नेकपा माओवादीले सिन्धुपाल्चोकमा गठबन्धन भए ५० प्रतिशत हिस्सा माओवादीलाई दिनुपर्ने माग राखेको थियो । कांग्रेसबाट वार्तामा रहेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले पार्टीभित्र छलफल गरेर फेरि बस्ने बताएका थिए । 

आज पुनः उनीहरुबीच वार्ता हुँदैछ । माओवादीका केन्द्रीय सदस्य माधव सापकोटा `सुबोध`ले सिन्धुपाल्चोकमा माओवादी कांग्रेसभन्दा कमजोर नरहेकाले ५० प्रतिशतको हिस्सा मागेको बताए ।

उनले भने, `यसअघि हामीले एमालेसँग पनि ५०/५० मै निर्वाचनमा भाग लिएका हौं, कांग्रेससँग पनि हामी सोही माग राख्दछौं` । कांग्रेस स्रोतले भने माओवादीलाई ५० प्रतिशत हिस्सा दिएर गठबन्धन गर्न नसकिने बताएको छ । 

यसैगरी जिल्ला कार्यसमितिको आजको बैठकबाट कांग्रेसले जिल्ला संसदीय समिति गठन गरेको छ । १३ जनाको जिल्ला संसदीय समितिमा पार्टी पदाधिकारी र ५ जना सदस्य रहेका छन् । यस्तै अनुशासन समिति र कार्यसम्पादन समिति पनि कांग्रेसले गठन गरेको छ । 

अनुशासन समिति उपसभापति टंक कार्कीको संयोजकत्वमा गठन भएको छ । गठन भएको छ ।  यस्तै ३० सदस्यीय कार्यसम्पादन समिति समेत गठन गरिएको छ । आउँदो निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेसले ५०९ प्रचार प्रसार समिति गठन गरेको छ । प्रचार प्रसार समितिको संयोजकमा सहसचिव रमेशराज भण्डारी रहेका छन् । 


Author

थप समाचार
x