दल

गठबन्धनमा चुनावमा जाने सहमति भैसकेको छ - अध्यक्ष दाहाल

इकागज |
चैत २३, २०७८ बुधबार १७:५४ बजे

फाइल फोटो

चितवन - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भैसकेको बताएका छन् । 

भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताए । 


दाहालले प्रतिगामीहरूलाई परास्त गर्दै लोकतान्त्रिक शक्तिहरूका बीचमा बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न क्रियाशील रहेको बताए । 

उनले भने, `सबै आ–आफ्नो ठाउँबाट लचिलो भई त्याग गर्ने मानसिकता भयो भने असम्भव भन्ने केही हुँदैन ।`

वर्षौदेखि आफ्नो पार्टीले भूमिहीन समुदायलाई भूमिपति बनाउने सङ्घर्षको सार्थकरूपको सुरूवात आज चितवनको भरतपुरबाट सुरू भएको उनको भनाइ छ । 

विसं २०३६ सालमा भूमिहीनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूवात गरेको भन्दै भूमि प्राप्तिको राष्ट्रिय अभियानलाई द्रुत गतिमा अगाडि बढाएर सम्पूर्ण भूमिहीनहरूलाई भूमिपति बनाउन सरकार र भूमि आयोगका पदाधिकारीलाई आग्रह गरे । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा प्रदान गरेर भूमि प्राप्तिको अभियानलाई निरन्तरता दिइने बताए । मन्त्री श्रेष्ठले भूमिहीनलाई लालपूर्जा दिने कार्य कुनै पनि निर्वाचनले नरोक्ने बताए । 

असली भूमिहीन नछुट्न भन्नेमा सरकार र पार्टी प्रतिबद्ध भएको भन्दै उहाँले चितवनबाट यसको सुरुआत गरिएको बताए । 

उनले भने, `कोही भूमिहीन नछुटुन् र कोही गैर भूमिपतिहरूले भूमिहीनको नाममा जग्गा नपाउन् भन्नेमा समेत आयोगका पदाधिकारी तथा कर्मचारीहरू सजग हुनुपर्छ ।`

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको सुरूआत भरतपुरबाट सुरु भएको भन्दै आफूले पाँच वर्ष अगाडि निर्वाचनका बेला गरेको बाचा पूरा गर्ने प्रक्रियाको सुरुआत भएको बताए ।  

उनले भने, `भरतपुर महानगरपालिका भित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १० हजार ७७७ जनालाई पुर्जा दिएरै छाड्छौँ ।`

सो अवसरमा भरतपुर महानगरपालिका–२ आँपटारी देवकोटा चोकका भूमिहीन दलितहरूलाई पहिलो चरणमा ४६ परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो ।  सोही क्षेत्रमा ६९७ जना भूमिहीन छन् । तीमध्ये दलितले पहिलो चरणमा पुर्जा प्राप्त गरेका हुन् एक परिवारले १३० वर्गमिटर नबढाई भोगचलन गर्दै आएको जग्गा दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नरेन्द्र खड्का, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी, आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालगायतले भूमिहीन नागरिकलाई राज्यले सम्बोधन गर्ने विश्वास दिलाए । रासस


Author

थप समाचार
x