दल

भाषा साहित्य र कलासंस्कृति समृद्धिका लागि राष्ट्र समृद्ध हुन जरुरी: अध्यक्ष नेपाल

इकागज |
चैत २३, २०७८ बुधबार २०:० बजे

जनकपुरधाम - भाषा, साहित्य र कला संस्कृतिको विकास तथा समृद्धिका लागि सबभन्दा पहिला राष्ट्र समृद्ध हुन जरुरी रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जोड दिएका छन ।

जनकपुरधाममा आयोजित तीन दिने जनकपुरधाम साहित्य, कला र नाट्य महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने नेपाल विविध संस्कृति र भाषाभाषी मिलेर बनेको देश हो, यसको सम्वद्र्धन र विकास प्रादेशिक स्तरमा पनि गर्न सकिन्छ तर त्यो भन्दा पहिला राष्ट्रलाई समृद्ध आवश्यक छ ।


उनले भने, `पहिला हामी नेपाली छौं, त्यसपछि अन्य कुनै समुदाय, जातजाति र वर्ग छौं सोही हिसाबले हाम्रो भाषा, साहित्य र संस्कृति पनि राज्यले उपेक्षा गरे अब प्रादेशिक रुपमा समेत त्यसको संरक्षण सम्वद्र्धन गर्न सक्छौं ।`

`तर अहिले देशमा राजनीतिमा होस अन्य कुनै क्षेत्र एकअर्काको खुट्टा तान्ने प्रवृत्ति बढेको छ । जबसम्म हामी देशलाई समृद्ध बनाउन सक्दैनौं तबसम्म कुनैपनि जातजाति वा धर्म समुदायको उत्थान र विकास असम्भव छ ।` अध्यक्ष नेपालले भने, `हामी देश समृद्ध बनाउने अभियानमा जुटेका छौं यसमा सबैको सहयोग र साथको आवश्यकता छ ।`

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्रका भाषा, साहित्य र कला संस्कृतिको उत्थान, संरक्षण, सम्बध्रन र विकासका लागि चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान गर्ने प्रतिबद्धता जनाए ।

उनले भने प्रज्ञा प्रतिष्ठान गठनका लागि कार्य अन्तिम चरणमा पुगिसकेको छ, ऐन पारित भए लगतै मधेश प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गरिनेछ । ती प्रज्ञा प्रतिष्ठानले प्रदेश भित्रका मैथिली, भोजपुरी, बज्जिका र अवधि लगायतका भाषाहरुको सम्वृद्धि र संरक्षण हुने विश्वास उनले व्यक्त गरे ।

कोषले प्रदान गर्दै आएको डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषा वैज्ञानिक डा. रामअवतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७ डा. आभास लाभलाई दिएको छ । 

त्यसैगरी डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार महेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गरिएको छ भने ती सबै पुरस्कारको राशि ५१ हजार रहेको छ ।


 


Author

थप समाचार
x