दल

प्रकाशमानमा गोलबद्ध भयाे पुरानो देउवा समूह

प्रचण्डजस्तै रणनीतिमा प्रकाशमान

इकागज |
चैत २४, २०७८ बिहीबार १२:८ बजे

काठमाडौँ–  हालै सम्पन्न नेपाली  कांग्रेसको १४औं महाधिवेशनबाट जसरी पनि नेतृत्व फेर्ने अडानमा रहेका सभापतिका उम्मेदवार प्रकाशमान सिंहले पहिलो चरणमा कुनै नतिजा ननिस्किएपछि दोस्रो चरणमा शेरबहादुर देउवालाई नै समर्थन गर्ने निर्णय गरे । प्रकाशमानलाई मनाउने कार्यको नेतृत्व गृहमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले गरेका थिए ।

१४औं महाधिवेशनमा सिंहलाई देउवासँग मिलाउँदा नै १५औं महाधिवेशनको तयारी शुरु भैसकेको थियो । नेपाली कांग्रेसको विधानले दुई कार्यकालभन्दा बढी लगातार सभापति बन्न मिल्दैन । आगामी महाधिवेशनमा देउवाको नेतृत्व फेर्नैपर्छ । 


अब पुरानो देउवा समूहले प्रकाशमान सिंहको नेतृत्वमा महाधिवेशनको मैदानमा आउनेगरी सिंहसँग गोलबद्ध भएका छन् । केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखक, बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ लगायतले यो अभियानलाई तीव्रता दिइरहेका छन् । 
सिंह निवासमा आजभोलि यी नेताहरूको भेटघाट बाक्लिएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । 

देउवाले आगामी महाधिवेशनमा बीपी कोइरालाका छोरा सशांक कोइरालालाई सभापतिमा अघि बढाउन सक्ने सम्भावनालाई समेत आँकलन गरेर कोइरालालाई सभापतिमा अघि बढाएर जान नसकिने निष्कर्षसहित बरु प्रकाशमानलाई नै अघि बढाउने निष्कर्षमा पुरानो देउवा समूह पुगेको हो । 

‘बागमती प्रदेश सभापतिमा जगदीश्वर नरसिंह केसीलाई समर्थन गरेका सिंहकै समूहमा पुनः बागमती प्रदेश सभापति बानियाँ समेत गोलबद्ध हुनुले क्रमशः देउवाको सिंगो समूहलाई नै आकर्षित गर्ने अभियान देखिन्छ,’ ती नेताले भने । 

त्यसो त सिंह पहिले देउवाकै समूहमा थिए । पछि उनी गुट परिवर्तन गरेर कोइराला समूहमा फर्किएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको उनको निकटता रहेपनि १४औं महाधिवेशनका क्रममा टुटेको थियो । 

श्रीमति सिंहलाई काठमाडौँ महानगरको मेयर !

स्थानीय निकायको निर्वाचन नजिकिदैं जाँदा प्रकाशमान परिवारले काठमाडौँको मेयर दाबी गरेको छ । सिंहकी श्रीमति सिर्जना सिंहलाई मेयर बनाउन पार्टीमा दबाब बढाइएको छ । त्यसो त काठमाडौँको मेयरमा पहिलेदेखि नै गणेशमान सिंहको परिवारले इच्छाएका व्यक्तिलाई कांग्रेसले नै टिकट दिदैं आएको छ ।

काठमाडौँको मेयरमा श्रीमति सिंहको दाबी सम्भवतः महामन्त्री गगन थापाको समूहले अघि साने उम्मेद्वारालाई रोक्ने उद्देश्यका साथ प्रकाशमानमा गोलबद्ध भएको पुरानो देउवा समूहकै डिजाइनमा भएको बताइन्छ । श्रीमति मेयर भए काठमाडाैँ १ काे आफ्नाे निर्वाचन क्षेत्र अझै सुरक्षित हुने प्रकाशमानकाे बुझाई छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छाेरीलाई भरतपुर महानगरको मेयर बनाएर चितवनमा आफ्नाे निर्वाचन क्षेत्रलाई सुरक्षित गरेजस्तै सिंहले स्थानीय मतदाता रिझाउन यस्ताे रणनीति तय गरेको बताइन्छ । 


Author

थप समाचार
x