स्थानीय तह निर्वाचन : उम्मेदवार घोषणामा दलहरूको ढिलाई
काठमाडौँ– राजनीतिक दलहरू यतिबेला स्थानीय निर्वाचनको तयारीमा व्यस्त छन् । नेपाली कांग्रेस र नेकपा एमाले भने घोषणा पत्र लेखनमा लागिसकेका छन् । अन्य दलको भने घोषणापत्रको बारेमा चर्चा सुनिदैंन । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र लेख्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समितिमा अन्य १० जना सदस्यीय समिति गठन गरेको छ । समितिल घोषण पत्रको तयारी गरिरहेको छ । सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले सोमबार महामन्त्री गगन थापाको नेतृत्वमा २८ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । दलहरूले घोषण पत्र केन्द्र र स्थानीय तह दुवैतिरबाट जारी गर्न लागेका छन् । तर, दलहरूले आफ्ना उम्मेदवारहरूको नामावली भने टुङ्ग्याएका छैनन् ।
निर्वाचनका लागि ३७ दिन मात्रै बाँकी छ । कुनै पनि राजनीतिक दलले आफ्ना उम्मेदवारको टुङ्गो नलगाउँदा उम्मेदवारी दाबी गर्नेहरूलाई प्रचारप्रसार शुरु गर्न समस्या भएको छ । चुनावमा एक्लै जाने भएकाले एमालेलाई उम्मेदवार छनोट गर्न खासै समस्या देखिदैन । तर, गठबन्धनका दललाई भने भागबन्डा मिलाउनै सकस देखिन्छ । दलहरूबीचमा चुनावी तालमेलको रोडम्याप तय भइनसकेकाले गठबन्धनका दलहरूले आफ्ना उम्मेद्वार घोषण गर्न सकेका छैनन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले उचित भाग पाउनु पर्ने माग राखेका छन् । एकीकृत समाजवादीले पनि एमालेले जीतेका पालिका आफ्नो भागमा पर्नुपर्ने माग राख्दै आएको छ । संघीय समाजवादीले पनि आफूलाई उचित भाग नपाए गठबन्धनमा नबस्ने संकेत गरिसकेका छन् । दलहरूको भागबन्डा नमिलेसम्म उनीहरूलाई उम्मेदवारबारे निर्णय गर्न सकेका छैनन् । कांग्रेसले स्थानीय तह निर्वाचनका लागि गठबन्धनको प्रारुप तय नभएसम्मका लागि उम्मेदबारको नाम टुंगो नलगाउन निर्देशन जिल्ला कमिटीहरूलाई दिएको छ ।
केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन गर्ने मोडल हालसम्म तयार नभएकाले वडादेखि पालिका र नगरको टिकट पाउने व्यक्तिहरुको सूची कांग्रेसले रोकेको हो । गठबन्धनका अन्य दलले पनि उम्मेदवारको छनौट गरिसकेका छैनन् । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी चुनावी दौडाहमा भएपनि घोषणा पत्र र उम्मेदवारको छनौटमा तयारी गरेको देखिएन । दलहरूले उम्मेदवारको टुङ्गो नलगाउँदा स्थानीय स्तरमा प्रचारप्रसारमा उम्मेदवारले आफ्ना प्रतिबद्धता लिएर जनता समक्ष जान पाएका छैनन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले कांग्रेसले उम्मेदवारबारे आन्तरिक रुपमा तयार गरिरहे पनि बाहिर सार्वजनिक गर्न मात्रै रोकिएको बताए । उम्मेदवार घोषणा गरेर पछि गठबन्धनमा भागबण्डा मिलाउनुपर्ने अवस्था आएमा नमजा हुने भएकाले केही दिन रोकिएको उनको भनाइ छ । ‘हामीले उम्मेदवार छनोट आन्तरिक रुपमा रोकेका छैनौँ,’ उनले भने, ‘गठबन्धनको छलफल नसकिएकाले केही दिन सार्वजनिक गर्नलाई मात्रै रोकेका हौँ ।’ एक/दुई दिनमा निर्णय हुने भएकाले यसले उम्मेदवारलाई प्रचार प्रसारमा खासै असर नगर्ने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया