डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज: अध्यक्ष दाहाल
फाइल फोटो
चितवन - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताएका छन् ।
भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले स्वास्थ्य र शिक्षा मन्त्रालय, सम्बन्धित अस्पतालको त्रिपक्षीय सम्झौता गरेर मेडिकल कलेज स्थापना गर्नुपर्ने बताएका हुन् ।
डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो भने भरतपुर अस्पताल रहेको चितवन दाहालको गृह जिल्ला हो । `प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा स्वास्थ्य, शिक्षा मन्त्रालय, सम्बन्धित अस्पताललगायतको त्रिपक्षीय सम्झौता गरेर सुदूरपश्चिम विश्वविद्यालयको मेडिकल कलेजका रूपमा विकास गर्ने एउटा मोडालिटी तयार भएको छ`, उनले भने, `भरतपुर अस्पताललाई पनि सेन्टर अफ एक्सिलेन्सका रूपमा र एकेडेमिक सेन्टरको रूपमा त्यही मोडालिटीअनुसार मैले यहाँबाट फर्केर गएपछि प्रधानमन्त्रीलाई भन्ने छु ।`
उनले भरतपुर अस्पताललाई पनि त्यही मोडालिटीमा पोखरा विश्वविद्यालयको मेडिकल कलेजका रूपमा स्थापित गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताए । उनले भने, `तपाईंले डडेल्धुरामा गर्नु भएछ अब पालो चितवनको भन्ने छु । मलाई विश्वास छ प्रधानमन्त्रीले मेरो कुरा काट्नु हुने छैन । काट्न मिल्ने ठाउँ नै छैन ।` प्रधानमन्त्रीले डडेल्धुरामा गरेपछि आफूले चितवनमा माग्नु बिलकुल जायज भएको बताए ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया