अर्घाखाचीमा एमालेले छान्यो उम्मेदवार
गठबन्धन निर्देशनको पर्खाइमा
बुटवल – नेकपा एमाले अर्घाखाँचीले अर्घाखाँचीका ३ वटा पालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा एमालेको पालिका स्तरीय बैठकबाट शीतगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका र पाणिनि गांउपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिएको हो ।
भूगाेलका हिसबले देशकै ठुलो भुमिस्थान नगरपालिकाको प्रमुखमा एमालेले रेशम थापालाई उठाउने निर्णय गरेकाे छ । थापा अहिलेका पनि प्रमुख हुन् । त्यसैगरि सोही नगरपालिकाको उपप्रमुखमा बसन्ता पौडेललाई छनोट गरिएको छ ।
त्यस्तै अर्घाखाचीकै शीतगंगा नगरपालिकाको प्रमुखमा बसन्त श्रेष्ठलाई सर्वसम्वत रुपमा अघि सारिएको छ । सो पालिकाका यसअघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यस पटक उमेदवार बनेका श्रेष्ठ तत्कालीन ठाडा गाविसका अध्यक्ष भई काम गरिसकेका छन् ।
नेकपा एमालले पाणिनि गाउँ पालिकाको अध्यक्षमा टेकराज न्यौपानेलाई सर्वसहमतिले चयन गरेको छ । तर उपाध्यक्षमा भने नाम सार्वजनिक गरिएको छैन । अनुकूल समयमा उपाध्यक्षको नाम सार्वजनिक गरिने एमाले पाणिनि पालिका कमिटीका अध्यक्ष कमल घिमिरेले बताए ।
उनका अनुसार कुनै पार्टीबाट आउने अथवा तालमेलका लागि पनि उपाध्यक्ष पद खाली राखिएको छ । कुल ६ वटा पालिका रहेको अर्घाखाचीका अरु पालिकामा पनि छलफल तीव्र रुपमा अगाडि बढेको र केही दिनमै उम्मेदवार छनौट गरिने नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले बताए । उनले यस पटक पार्टीले सबै पालिका जित्ने गरी योजना बनाएको बताए।
प्रमुख प्रतिस्पर्धी नेकपा एमालले उम्मेदवार चयन गरेपनि गठबन्धन दलहरु भने प्रदेश र केन्द्रको निर्देशनको पर्खाइमा देखिएका छन् । केन्द्रमा भन्दा पहिला नै अर्घाखाचीमा गठबन्धन गर्ने निर्णय गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका दलहरु पद बाडफाँडमा अड्किएका छन् । विगतमा अर्घाखाचीका ३ पालिकामा कांग्रेसले जितेको थियो भने २ पालिकामा एमाले तथा एक पालिकामा माओवादी उमेदवार विजयी भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया