दल

स्थानीय तह निर्वाचन

मोरङमा एमालेबाट दुई पालिका प्रमुख र ४३ वडाध्यक्ष सर्वसम्मत सिफारिस

बाबुराम भण्डारी |
चैत २९, २०७८ मंगलबार ८:७ बजे

विराटनगर - मोरङमा नेकपा एमालेले पालिका प्रमुखदेखि वडाध्यक्षसम्मका उम्मेदवार सर्वसम्मत बनाउन थालेको छ । गठबन्धन दलहरू तालमेलमै जाने/नजाने भन्ने किचलोमा रहेका बेलामा एमालेले उम्मेद्दवार सर्वसम्मत रुपमा चयन गर्दै चुनाव अभियानसमेत सुरु गरेको हो ।

एमालेले मोरङमा दुईवटा स्थानीय पालिकाका प्रमुख र वडाध्यक्षका ४३ उम्मेदवार सर्वसम्मत रुपमा टुंग्याएको छ । एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार रंगेली नगरपालिकाको मेयरमा दिलीप बगडिया र धनपालथान गाउँपालकाको अध्यक्षमा मुसहरू मण्डलको एकल नाम सिफारिस भएर आएको जानकारी दिए ।


उनले सर्वसम्मत रूपमा नाम सिफारिस भएर आएपछि पार्टी नेतृत्वले चुनावी अभियानलाई अघि बढाउन समेत निर्देशन गरिसकेको बताए । अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका रंगेलीका बगडिया माओवादी केन्द्र छाडेर दुईजना वडाध्यक्षसहित एमाले प्रवेश गरेका थिए ।

रंगेलीमा दोहोरिने रणनीतिका साथ उनी एमाले प्रवेश गरेका बगडियालाई एमालेको गाउँ कमिटीले नै सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाएर नाम सिफारिस गरेको जनाइएको छ । त्यसैगरी धनपालथानको अध्यक्ष पदका लागि एमालेबाट एकल सिफारिस भएका मण्डल भने अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसका हरिलाल सिंहसँग ३५२ मतले पराजित भएका थिए ।

उनलाई पुनः गाउ“पालिकाको अध्यक्ष उठाउने निर्णय भएकोले सर्वसम्मत रूपमा नाम सिफारिस गरेको एमाले धनपालथान गाउँ कमिटी अध्यक्ष महेश्वर यादवले बताए । एमाले मोरङ सचिव खतिवडाले मंगलबार विहानसम्मको प्राप्त विवरण भन्दै अहिलेसम्म ४३ जना वडाध्यक्षका उम्मेद्दवार सर्वसम्मत गरिसकेको बताए ।

मोरङका १७ वटा पालिका मध्ये १२ वटाका विभिन्न वडाहरूमा सर्वसम्मत सिफारिस गरिएको उनले जानकारी दिए । १७ पालिकामा १५९ वडा रहेका छन् । कूल वडाको २७ प्रतिशतमा एमालेले वडाध्यक्ष सर्वसम्मत सिफारिस गरेको उनले बताए ।

पार्टीले सवै स्थानीय तहमा उम्मेद्दवारहरू सर्वसम्मत गर्ने प्रयास स्वरुप पार्टी नेतृत्व लागिरहेको जानकारी दिए । सर्वसम्मत आकांक्षी अघि सारिएका स्थानीय तह र सम्बन्धित वडाहरूमा चुनावी प्रचार अभियान समेत सुरु भइसकेको जनाइएको छ ।

विराटनगर महानगरपालिकाका १९ वडा मध्ये वडा नं. १०, ११ र १९ मा वडाध्यक्षका आकांक्षी सर्वसम्मत भएका छन् । केराबारी गाउँपालिकाको १० वटा वडा मध्ये वडा नं. १० बाहेक बाँकी ९ वटा वडाहरूमा वडाध्यक्षका उम्मेद्दवार सर्वसम्मत गरेको जनाइएको छ ।

सुन्दरहरैंचा नगरपालिकाका १२ वडाहरु मध्ये वडा नं. ३, ४, ५, ६, ९, ११ र १२ मा एमालेले वडाध्यक्षहरुका उम्मेद्दवार सर्वसम्मत गरेको हो । त्यसैगरी रतुवामाई नगरपालिकाको वडा नं. ३, ५, ६, ९ र १०, लेटाङ नगरपालिकाको ४ र ७, उर्लाबारी नगरपालिकाको ९ वटा मध्ये १, २, ३ र ६ नम्बर वडामा वडाध्यक्षका आकांक्षी सर्वसम्मत भएका छन् ।

बुढीगंगा गाउँपालिकाको ५ र ६, कानेपोखरी गाउँपालिकाको २ र ५, सुनबर्षी नगरपालिकाको २ र ४ मा पनि एमालेले वडाध्यक्षका आकांक्षीको नाम सर्वसम्मत सिफारिस गरेको हो । रंगेली नगरपालिकाको ५ र ८ मा अघिल्लो पटक निर्वाचित भएकै वडाध्यक्षहरूलाई यसपटक पनि सर्वसम्मत रुपमा वडाध्यक्ष बनाउने निर्णय भएको जनाइएको छ ।

मिक्लाजुङ गाउँपालिकाको वडा नं. ३ र ५ र धनपालथाल गाउँपालिकाको वडा नं. १, २ र ६ मा वडाध्यक्ष सर्वसम्मत सिफारिस गरेको जनाइएको छ । नेकपा एमाले प्रदेश १ कमिटीका अध्यक्ष तुलसी प्रसाद न्यौपानेले प्रदेश १ मा एक महानगर र दुई उपमहानगरको मेयर/उपमेयरको नाम प्राप्त भएपछि अन्तिम निर्णयका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिने बताए । उनले महानगरको मेयरका लागि तल्लो कमिटीबाट सिफारिस हुँदै आएका नामहरुमा भने प्रदेश कमिटीले आवश्यकता अनुसारको थप रायसहित केन्द्रीय कमिटीमा सिफारिस गर्ने जानकारी दिए ।

प्रदेश कमिटीलाई महानगर र उपमहानगरको नेतृत्वका आकांक्षीको नाम रायसहित केन्द्रीय कमिटीमा पठाउने, वडाध्यक्षहरूको भने निर्णय गर्ने अधिकार रहेको छ । त्यस्तै नगरपालिका र गाउँपालिकाको मेयर÷प्रमुख तथा उपमेयर/उपप्रमुखको पनि प्रदेश कमिटीले नै निर्णय गर्ने अध्यक्ष न्यौपानेले बताए ।

तर प्रदेश कमिटीमा अहिलेसम्म कुनैपनि पालिकाको नेतृत्वका लागि जिल्लाहरूले नाम सिफारिस वा निर्णयका औपचारिक रूपमा नाम नपठाएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x