दल

हाम्रो संस्कृति र मौलिकतालाई मध्यनजर गरेर मात्रै हाम्रो विकास गर्न आवश्यक : प्रचण्ड

इकागज |
चैत २९, २०७८ मंगलबार १३:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन् ।

मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले नेपालका लागि आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभुत गर्ने गरी विकासमा गति लिने र फड्को कसरी मार्ने भन्ने महत्वका साथ उठाउनुपर्ने बताए ।


अध्यक्ष दाहालले अहिलेको २१ औँ शताब्दीको विश्व, ग्लोबलाइज पनि छ, डिजिटलाइज भएको भन्दै यसको प्रभावले हाम्रो विकास मोडेलमा पारेको नकारात्क र सकारात्मक प्रभावलाई गम्भीरताका साथ अध्ययन गरेर मौलिक किसिमको तरिकाबाट देशको विकास गर्न आवश्यक रहेको बताए । उनले बढ्दो सहरीकरण र त्यसबाट पैदा भएका विभिन्न समस्यालाई समाधान गरेर सहर व्यवस्थापनमा ध्यान दिनु अबको आवश्यक्ता भएको पनि बताए ।

‘एउटा प्रवृति छ, संघीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको यो संविधानलाई त्यति रुचीकर ठान्दैन । त्यो प्रवृति अहिले पनि तपाई हामीले देखिरहेका छौँ । कुनै न कुनै रुपले यसलाई विघटन गर्ने, वा यसबाट अर्को दिशातर्फ लाद्ने कसरतहरु भइरहेका छन् । यस्तो परिस्थितिमा हामीले संविधानले र परिवर्तनले र आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभुत गर्ने गरी विकासमा हामीले गति कसरी लिने, फड्को कसरी मार्ने भन्ने कुरा असाध्यै महत्वपूर्ण छ नेपालको लागि' अध्यक्ष दाहालले भने, 'अहिलेको २१ औँ शताब्दीको विश्व, ग्लोबलाइज पनि छ, डिजिटलाइज पनि छ । यसको प्रभावले हाम्रो विकास मोडेलमा के प्रभाव पार्छ ? नकारात्मक प्रभावहरु के छन् ? सकारात्मक र रचनात्मक के छन् ? भन्ने कुरामा गहिरो अध्ययन गरेर हामीले आफ्नै विकासको मौलिक मोडेलको विकास गर्न जरुरी छ । हामीले हाम्रो संस्कृति र मौलिकतालाई मध्यनजर गरेर मात्रै हाम्रो विकास गर्न आवश्यक छ ।’

अध्यक्ष दाहालले विकास निर्माणका लागि आवश्यक ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने पनि बताए। 


Author

थप समाचार
x