दल

स्थानीय तह निर्वाचन

एमालेले जोगाउन सक्ला दाङका दुवै उपमहानगरको विरासत ?

इकागज |
बैशाख २, २०७९ शुक्रबार १०:९ बजे

फाइल तस्‍बिर

काठमाडौं– गत निर्वाचनमा दाङको दुई उपमहानगरपालिमा मेयर र उपमेयर दुवै पद जितेको नेकपा एमालेलाई यसपालि आफ्नो वर्चस्व जोगाउन चुनौतीपूर्ण देखिएको छ । माओवादी र कांग्रेसले २०७४ सालको स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मतका आधारमा दुवै उपमहानगरपालिकामा एमालेलाई आफ्नो वर्चश्व कायम राख्न चुनौतीपूर्ण हुने देखिएको हो ।

२०७४ मा एमालेका नरुलाल चौधरी २२ हजार ३० मत ल्याएर घोराही उपमहानगरको मेयर बनेका थिए भने सीता सिग्देल न्यौपाने २० हजार ९ सय ९२ मत ल्याएर उपमेयर बनेकी थिइन्। त्यस्तै, एमालेका घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गरेर तुलसीपुरको मेयरमा निर्वाचित भएका थिए भने माया शर्मा २१ हजार ३७ मत प्राप्त गरेर उपमेयरमा निर्वाचित भएकी थिइन्।


घोराही उपमहानगरको निर्वाचनमा प्रथम भएर चौधरीले मेयरमा र सिग्देलले उपमेयरमा जित्दै गर्दा नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेका थिए। तुलसीपुर उपमहानगरको निर्वाचनको हकमा पनि यही भयो। अर्थात्, सबैभन्दा धेरै भोट ल्याएर पाण्डे र घनश्याम वियज हुँदा नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल बने। 

घोराही र तुलसीपुर दुवै उपमहानगरको मेयर र उपमेयरमा नेपाली कांग्रेस र माओवादी केन्द्रको भोट मात्र जोड्दा पनि नेकपा एमालेलाई पराजित गर्न काफी हुन्छ। घोराही उपमहानगरको मेयरका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको भोट जोड्दा २९ हजार ५ सय ६६ हुन्छ। जुन एमालेले ल्याएको भन्दा ७ हजार ५ सय २६ ले बढी हुन्छ।

त्यस्तै, तुलसीपुर उपमहानगरको मेयरका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको भोट जोड्दा २७ हजार ५ सय ९६ हुन्छ। जुन एमालेको भन्दा ४ हजार ७ सय ३९ ले बढी हुन्छ। 

दुवै उपमहानगरका दुवै उपप्रमुखको तुलना गर्दा पनि गठबन्धन राम्रो मतले अगाडि देखिन्छ। साथै, तत्कालीन एमाले टुक्रिएर दुई दल बनेपछि भोट बाडिने सम्भावना अझ छ। 

त्यसो त नेकपा एमालेले पनि बुधबार कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसँग गठबन्धन गर्‍यो। तर, गठबन्धन गरिएका यी दलको पक्षमा भएको मत एमालेलाई जित्न पर्याप्त हुँदैन। तर, एमाले दाङका इन्चार्ज नरुलाल चौधरी अहिलेको अवस्था पूर्ण रुपमा फरक भइसकेको दाबी गर्छन्। 

घोराही उपमहानगरका प्रमुख समेत रहेका चौधरी यसपालि पनि एमाले नै चारै पदमा जित्नेमा विश्वास्त छन्। ‘अहिलेको गठबन्धनको कुनै अर्थ छैन। जनताले यो गठबन्धनको नियत के हो भन्ने राम्रोसँग बुझिसकेका छन्,’ उनले भने, ‘त्योबेलाका धेरै कांग्रेसी र माओवादीले अहिले एमाले प्रवेश गरिसकेका छन्। हामी जित्नेमा कुनै सन्देह छैन।’

यता एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले चौधरीको तर्क र दाबी निराधार भएको बताए। ‘तत्कालीन नेकपा एकालेका धेरै सदस्यहरू अहिले एकीकृत समाजावादी हुनुहुन्छ,’ श्रेष्ठको दाबी छ, ‘दुवै उपमहानगरमा हामीले जित्नेमा प्रश्न गर्ने ठाँउै छैन।’

एमालेले घोराही र तुलसीपुर दुवै उपमहानगरबाट मेयर र उपमेयरका उम्मेदवार सिफारिस गरिसकेको छ भने सत्तागठबन्धनले गर्न बाँकी छ।
 


Author

थप समाचार
x