हामीले कमाइदिएको सम्पतीमा साथीहरू रमाउनु भयो : कमल थापा
बुटवल - राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्थाको पुनर्स्थापनाको सम्भावना बन्द भएको बताएका छन् । राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकोले अब राजसंस्था पुनर्स्थापना नहुने उनले बताए ।
बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष थापाले राप्रपाले राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोक्दा हिन्दुराज्यको एजेन्डा रोकिएकोले नयाँ पार्टी स्थापना भएको बताए । उनले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएपछि नयाँ पार्टी पुनर्जागृत गरेको बताएका छन् ।
आफू पार्टीमा रहेको १५ वर्षमा कमाएको आम्दानीमा अहिलेको राप्रपा रमाएको उनको भनाइ छ । 'अहिले राप्रपाको चहलपहल धनी बाउले कमाइ दिएकोमा रजगज गरेको हो । हामीले कमाइदिएको पुँजीमा अहिलेको साथीहरू रमाउनु भयो', थापाले भने ।
उनले राप्रपा आगामी दिनमा राप्रपा नेपालमा समाहित हुने जिकिर गरे । स्थापनाको दुई महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको बताउँदै उनले आधा दर्जन बढी भ्रातृ संगठन निर्माण भएका बताए ।
आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले सम्मानजनक उपस्थिति जनाउने उनले बताए । उनले भने 'राप्रपा नेपालले चुनावमा भाग लिनेछ । यो पटक हाम्रो पार्टीको पहिलो निर्वाचन भएकोले यसमा हाम्रो ठूलो महत्वाकांक्षा र अपेक्षा छैन ।
सम्मानजनक उपस्थिति र पार्टीले खुट्टा टेक्ने ठाउँ बनाउने छ ।' एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै अध्यक्ष थापाले एमालेसँग सहकार्य गरेर निर्वाचन लड्ने बताए ।
उनले भने, 'केपी ओलीको नेतृत्वकाे नेकपा एमालेले राष्ट्रियता, स्थिरता र समृद्धिको पक्षमा अडिलो नीति ल्याएकोले सहकार्य गर्ने निर्णय गरेका हौँ।'
थापाले यो पटक एमालेको सूर्य चिह्नबाट निर्वाचन लड्ने बताए । उनले भने, 'हाम्रो चुनाव चिह्न तीर हो । हाम्रो चुनाव चिह्नकाे बारेमा बुझाउन समय लाग्ने भएकोले सूर्यबाट लड्नेछौँ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया