जनप्रतिनिधिद्वारा सवारी साधन फिर्ता
फाइल तस्बिर
दमौली - तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उहाँहरूले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गरेका हुन् ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर कुमाल र भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले आइतबार सवारी साधन फिर्ता गरेका छन् । उनीहरू दुवै ती पालिकाको नगरप्रमुखको आकाङ्क्षी हुन् ।
शुक्लागण्डकीका प्रमुख गुरुङले आफूले प्रयोग आएको ग१झ ३२१ नम्बरको स्कोरपियो फिर्ता गरेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेलाई चाबी हस्तान्तरण गरे ।
उनले पुनः नगरप्रमुखमा दोहोरिनलाई आकाङ्क्षा व्यक्त गरेका छन् । नेपाली कांग्रेस शुक्लागण्डकीले उनीसहित दश जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।
उनले अब नगरप्रमुखको उम्मेदवार नभए पनि सरकारी सवारी प्रयोग नगर्ने बताए । निर्वाचन आचारसंहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उनको भनाइ छ। निर्वाचन नजिकिएकाले नगरपालिकाको सवारी प्रयोग नगर्ने गरी फिर्ता गरेको भन्दै उहाँले अब मेयरको उम्मेदवार भए पनि नभए पनि सवारीको सुविधा नलिने प्रष्ट पारे ।
यसैगरी भीमाद–९ का वडाध्यक्ष इमानबहादुर थापाले आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन्। उनले आफूले प्रयोग आएको ग१ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गरेका हुन् ।
निर्वाचनका बेला सरकारी सवारी चढ्न उपयुक्त नहुने भएकाले फिर्ता गरेको उनले बताए । वडाको कामकाजका लागि पनि अब सरकारी मोटरसाइकल प्रयोग नगर्ने निर्णय गरेर फिर्ता गरेको उनको भनाइ छ ।
यसैगरी शुक्लागण्डकीका प्रवक्ता खिमबहादुर कुमालले आफूले चढ्दै आएको ग१ब ७४६ नम्बरको मोटरसाइकल नगरपालिकालाई फिर्ता गरेका छन्। अब चुनाव केन्द्रित गतिविधिमा लाग्नुपर्ने भएकाले सरकारी सेवा सुविधाको दुरुपयोग गर्न नहुने बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया