दल

मकवानपुरमा भागवण्डा टुंग्याउँदै गठबन्धन, हेटौँडाको जिम्मा केन्द्रीय कार्यदललाई

इकागज |
बैशाख ५, २०७९ सोमबार ७:४५ बजे

मकवानपुर - मकवानपुरमा सत्तारूढ पाँच दलीय गठबन्धनका दलहरूले आज चुनावी भागबण्डा टंग्याउने तयारी छ । 

सोमबार साँझ ५ बजे बैठक बसेर स्थानीय तहको भागवण्डा टुंग्याउनेमा दलहरूबीच सहमति भएको बताइएको छ । यसअघि सत्तारुढ गठबन्धनका दलहरूको ८ वटा बैठकमा सहमतिको विन्दु खोजिएको थियो । 


आइतबार दिउँसो कार्यदलको बैठक बस्ने सूची भए पनि नेकपा माओवादी केन्द्रको मकवानपुर र चितवन कमाण्डको छलफल भएकाले बैठक सोमबारको लागि सारिएको थियो ।

नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलका अनुसार माओवादीको आन्तरिक छलफलले सहमतिको लागि समय लम्बिएको थियो । पोखरेलले भने,‘सोमबारका बैठकले सबै विषयमा लगभग सहमति गर्ने छ र सहमति नबने प्रदेश र केन्द्रमा लेखेर पठाउने विषयमा सहमति हुनेछ ।’

यता, मकवानपुरका गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच अहिलेका ६ स्थानीय तहमा सोही पार्टीलाई नै दिने विषयमा सहमति भएको छ ।

नेपाली कांग्रेसले बकैया र राक्सिराङ गाउँपालिका, नेकपा माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिका, नेकपा (एकीकृत समाजवादी)ले कैलाश र ईन्द्रसरोवर गाउँपालिका लिने विषयमा तीनै दल सहमत छन् ।

बाँकी ४ स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकासहित देशभरका ११ उपमहानगरपालिका केन्द्रीय कार्यदलले जसलाई दिए पनि मान्य हुने गठबन्धनमा सहमति बनेको छ ।

हेटौँडामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी छ । यसपछिको मनहरी, भीमफेदी र मकवानपुरगढी गाउँपालिका ३ दलले एक–एक वटा लिन तयारी गरेका छन् । त्यहाँ पनि मनहरीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी कायमै छ ।

नेकपा (एकीकृत समाजवादी)ले हेटौँडा लिए मनहरी आफूहरूले पाउनु पर्ने कांग्रेसको दाबी छ । माओवादीको मनहरीमा अध्यक्षसहित अन्यमा उपप्रमुख पाउनु पर्ने दाबी छ ।

यसैगरी, पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा सम्मानजनक स्थान नपाए एक्लै भए पनि उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

गठबन्धनमा अध्यक्ष, उपाध्यक्षमा दाबी गर्ने र अध्यक्ष, उपाध्यक्ष नपाएको खण्डमा कुनै पनि हालतमा चार वटा वडा लिने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र तामाङले बताए । अध्यक्ष वा उपाध्यक्ष नपाइएको खण्डमा समाजवादीले राक्सिराङमा वडा नम्बर ३, ४, ६ र ९ लिने निर्णय गरेको छ । यस्तै, उपाध्यक्ष पाइएको खण्डमा २ वटा वडा लिने निर्णय पनि भएको छ ।

बैठकले गठबन्धनले सम्मानजनक पद बाँडफाँट नगरे एक्लै चुनावमा जान पनि अध्यक्ष, उपाध्यक्षसहित ९ वडामै उम्मेदवार टुंगो लगाएको छ । तत्कालीन राक्सिराङ गाउँ विकास समितिका अध्यक्ष कृष्णबहादुर चेपाङ फेरि समाजवादीबाट अध्यक्षका उम्मेदवार सिफारिस भएका छन् । उनी समाजवादीको जिल्ला सचिवालय सदस्य र राक्सिराङ इञ्चार्ज हुन् ।

यस्तै, गठबन्धन भएमा उपाध्यक्षमा पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङको नाम सिफारिस भएको छ भने एक्लै लड्नु परेमा अध्यक्ष चेपाङका सारथीका रुपमा मिलनकुमारी लामालाई उपाध्यक्ष बनाइने भएको छ ।

पार्टीले वडा नम्बर १ मा बाबुराम मोक्तान, वडा नम्बर २ मा नविन्द्र थिङ, वडा नम्बर ३ मा ज्ञानबहादुर स्याङ्तान, वडा नम्बर ४ मा किशोरकुमार ब्लोन, वडा नम्बर ५ मा जुनियल प्रजा, वडा नम्बर ६ मा कृष्णलाल तामाङ, वडा नम्बर ७ मा जंगमान प्रजा, वडा नम्बर ८ मा सरोजकुमार प्रजा र वडा नम्बर ९ मा अम्मरबहादुर थिङलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गठबन्धको आजको बैठकलाई जनसंख्या तथा स्वास्थ्य मन्त्री एवम् पार्टी स्थायी कमिटी सदस्य विरोध खतिवडा, स्थायी कमिटी सदस्य एवम् मकवानपुर इञ्चार्ज ललित बस्नेत, केन्द्रीय सदस्यहरू मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, राजाराम स्याङ्तान लगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

यस्तै, बैठकमा १० स्थानीयमा समाजवादीले माग राखेका पदहरू, वडाध्यक्षका उम्मेदवारहरू र कार्यपालिका तथा जिल्ला समन्वय समितिमा माग गरिने पदहरूबारे पनि छलफल गरिने कार्य तालिका रहेको छ । १० स्थानीय तह इञ्चार्जहरूले रिपोर्टिङ गरेपछि गठबन्धनमा भएको छलफल र सहमतिको आधारहरू खोजिनेछ ।

गठबन्धनको बैठकमा समाजवादीलाई कैलाश र ईन्द्रसरोवर गाउँपालिका दिन अन्य चार दल सहमत छन् । हेटौँडा उपमहानगरपालिकामा उपप्रमुख र मनहरी गाउँपालिकामा उपाध्यक्ष पनि समाजवादीबाटै छन् । 

अहिलेको गठबन्धनमा मकवानपुरका २० पदमध्ये समाजवादीले ३ वटा प्रमुख र ४ वटा उपप्रमुख मागेको छ । कैलाश र इन्द्रसरोवरमा प्रमुख पाएसँगै हेटौँडा र मनहरीमा पनि प्रमुखको दाबी छ । यस्तै, चार उपप्रमुखमा पनि समाजवादीको दाबी छ । राक्सिराङ, वकैया, गढी र भीमफेदीमा उपप्रमुखमा समाजवादीको दाबी छ ।


Author

थप समाचार
x