दल

स्थानीय तह निर्वाचन

मधेशमा गठबन्धन नहुने संकेत: सबैले आ-आफ्नै उम्मेदवार उठाउँदै

सुभाष कर्ण |
बैशाख ६, २०७९ मंगलबार ८:२३ बजे

जनकपुरधाम - आगामी स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलको सहमति मधेश प्रदेशमा कार्यान्वयन नहुने अवस्था देखिएको छ ।

गठबन्धनभित्र रहेका दलहरूले मधेशका अधिकांश पालिकामा आ-आफ्ना उम्मेदवार घोषणा गरिरहेका छन् भने कतिपय ठाउँमा त अधिकारिक निर्णय नै गरिसकेका छन् । हुनत सता गठबन्धनले उम्मेदवार टंग्याउन सोमबारदेखि जिल्लाध्यक्षहरूसँग बैठक जारी राखेका छन् । 


बैठकमा आफूले जितेका पालिका गठबन्धनका कुनै पनि दलले अडान नछाडेपछि सोमबारको बैठक निष्कर्षविहीन भएको छ ।

स्थानीय तहको चुनाव संयुक्त रूपमा लडाउने भनेर गरिएको ७ बुँदे चुनावी तालमेल सम्झौता गरेका पाँच दलीय सत्ता गठबन्धन दलबीच स्थानीय तहमा भागबण्डा आ-आफ्नै उम्मेवार घोषणा गर्न थालेपछि टुंगो नलाग्ने अवस्था देखिँएको हो ।

प्रदेशका राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनका प्रमुख दल कांग्रेस र जसपा दुवैले दाबी गर्दै आ-आफ्ना उम्मेदवार  घोषणा गरिसकेका छन् । दुवै दलका उम्मेदवार चुनावी तयारी स्वरूप घरदैलो कार्यक्रम गरी प्रचार प्रसारमा जुटेका छन् । 

कांग्रेसबाट मनोजकुमार साह र जसपाबाट पुनः मेयर लाल किशोर साहलाई नै दोहर्‍याउनेगरी उम्मेदवार आन्तरिक रूपमा घोषणा गरिसकिएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा नेपाली काँग्रेसले उम्मेदवारी घोषणा गर्ने भएपछि नेकपा माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

माओवादीले गाउँपालिकाको अध्यक्ष पदका लागि धर्मेन्द्र यादवको एकल नाम सिफारिस गरेको छ । कांग्रेसबाट विश्वनाथ यादव, मुन्ना चौधरी र रामबाबु यादव सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

माओवादीले आफू जितेको धनुषाको शहीदनगर र विदेह नगरपालिका नछोड्ने अडानमा छन् भने कांग्रेसले उपमहानगरपालिकासहित आफूले जितेका १० वटा पालिकामा दाबी गरिरहेका छन् । 
 
पालिका कमिटीको बैठकले यादवलाई अध्यक्षको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको नेकपा माओवादी केन्द्रको मुखियापट्टी मुसहरनिया गाउँपालिका कमिटीका अध्यक्ष महेश यादवले जानकारी दिए ।

रौतहटमा त गठबन्धन दल जसपा, नेकपा एकीकृत समाजवादी र कांग्रेसबीच उम्मेदवारको जुहारी नै चलेको छ । रौतहट क्षेत्र नं १ मा रहेको पाँच पालिकामध्ये चारवटा पालिकामा जनता समाजवादी पार्टी नेपालले गठबन्धन नगर्ने निर्णय गरेको छ ।

जसपा नेपालका क्षेत्र नं १ का केन्द्रीय सदस्यसहितका नेताहरूको शनिबार बसेको बैठकले आसन्न निर्वाचनामा चार वटा पालिकामा गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ  ।
 
रौतहट क्षेत्र नं १ को पाँचवटा पालिकाहरूमध्ये गौर नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गाभगवती गाउँपालिका र यमुनामाई गाउँपालिकामा जसपाले एक्लै चुनाव लड्ने निर्णय गरेको हो । 

ती पालिकाहरू समाजवादी र कांग्रेसले नछोडने अडानमा छन् । ती दलका उम्मेदवारहरू चुनावी प्रचार प्रसार समेत गरिरहेका छन् ।

जसपा मजबुत रहेका पालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य रेवन्त झाले जानकारी दिए। 

यी चारवटा पालिकामा जसपा एक्लै चुनाव लड्न सक्षम रहेकोले यहाँ कसैसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहेको बताउँदै नेता झाले राजदेवी नगरपालिकामा गठबन्धनमा आवद्ध दलसँग तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको बताए ।

रौतहटमा १८ वटा स्थानीय तहहरू रहेकोमा एमालेको पकड क्षेत्र रहेको मौलापुर नगरपालिकामा कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी र जसपा नेपालबीच गठबन्धन गरेर अगाडि बढ्ने जसपाको निर्णय छ ।

मौलापुर, कटहरिया र राजदेवी नगरपालिका बाहेकका पालिकाहरूमा जसपाको राम्रो पकड रहेकोले अन्य पालिकाहरूमा जसपा नेपालले गठबन्धन गर्ने पक्षमा नरहेको तर पार्टीले गठबन्धन गर्न बाध्य बनाएको अवस्थामा आवश्यकता र औचित्यको आधारमा तालमेल गर्न सक्ने निर्णय जिल्ला कमिटीको रहेको झाले बताए ।

त्यस्तै महोतरीको बर्दिबास नगरपालिका माओवादी र प्रदेशका एकमात्र महानगरपालिका वीरगंज जसपाले कुनै पनि हालतमा नछोडने अडानमा छन् । 

एमाले र लोसपा जितेका केही पालिकामा मात्र चुनावी तालमेल गर्नेगरी सबै दलको आन्तरिक तयारी रहेको कारण चुनावी तालमेल सहमति कार्यान्वयन हुन नसक्ने अवस्था रहेको कांग्रसका एक नेताले बताए।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x