दल

कांग्रेस कास्कीका सभापतिसहितका नेताहरूलाई देउवाले काठमाडौँ बोलाए

इकागज |
बैशाख ६, २०७९ मंगलबार ८:३९ बजे

फाइल तस्‍बिर

पोखरा - पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि सत्ता गठबन्धनमा सिट बाँडफाँट हुन सकेकाे छैन । कास्कीमा जिल्ला तहका कांग्रेसका नेताहरू कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पनि आफूहरूले पाेखरामा मेयर नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेकाे छ ।

 कांग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरूले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादीबाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताएका छन् ।


कांग्रेसले पोखराको मेयरका लागि १८ र उपमेयरका लागि १० जनाको नाम संकलन गरेको छ । उनीहरूको सामान्य परिचयात्मक कार्यक्रम समेत भइसकेको छ भने आकांक्षीले पोखरा भिजन निर्माण गरिरहेका छन् । यही सन्दर्भमा कुरा गर्न कास्कीका नेताहरूलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन् ।

प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा जिल्लाको ब्रिफिङ गर्न अहिले काठमाडौं हिँडेका छन् । ‘उहाँ (सभापति)ले बोलाउनुभएको छ । हामीले अहिलेसम्म गरेका निर्णय र भएका प्रगतिबारे रिपोर्टिङ गर्छौं,’ सभापति बरालले भने, ‘किन बोलाउनुभयो भन्ने थाहा छैन । चुनावी विषय नै होला भनेर हामी तयार भएर आएका छौं ।’

उनले पोखराको मेयर कांग्रेसले नै पाउनुपर्ने अडानमा आफूहरू रहेको उनले बताए । अघिल्लो साता जिल्लाका झण्डै १ सय नेता कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालय पुगेर देउवालाई भेटेका थिए ।

त्यतिबेला भने देउवाले महानगरका विषयमा कुनै निर्णय नभएको भन्दै जिल्ला फर्कन निर्देशन दिएका थिए । अहिले उनैले बोलाएपछि काठमाडौं हिँडेको बरालले बताए ।


Author

थप समाचार
x