दल

प्रदेश १ मा एमालेले महानगर र उपमहानगरको प्रमुख-उपप्रमुख सिफारिस गर्दै

बाबुराम भण्डारी |
बैशाख ६, २०७९ मंगलबार ९:५१ बजे

विराटनगर - नेकपा एमालेले आज प्रदेश १ को एक महानगर र दुईवटा उपमहानगरका मेयर र उपमेयरका आकांक्षीहरूको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने भएको छ । एमाले १ नम्बर प्रदेश कमिटीका सचिव चिन्तन पाठकले विराटनगर महानगर, इटहरी उपमहानगर र धरान उपमहानगरका आकांक्षीहरूको नाम सिफारिस गरेर पठाइने जानकारी दिए । 

केन्द्रीय कमिटीले महानगर र उपमहानगरको मेयर/उपमेयरका आकांक्षीहरूको नाम राय सुझावसहित सिफारिस गर्ने र वडाध्यक्षको निर्णय गर्ने अधिकार प्रदेश कमिटीलाई दिएको छ । सोही अनुसार महानगर र उपमहानगरको मेयर र उपमेयरको नाम सिफारिस गरिने पाठकले बताए ।


‘आज महानगर/उपमहानगरका मेयर र उपमेयरको नाम केन्दमा सिफारिस गर्ने तयारी रहेको छ’ उनले भने, ‘भोलl (बुधबारसम्म) १४ वटै जिल्लाका पालिकाहरूको प्रमुख/उपप्रमुख समेत टुंगो लगाउन खोजिरहेका छौं ।’ त्यसका लागि जिल्लाहरूमा निर्देशन गरिसकेको जानकारी दिए ।

विराटनगर महानगरपालिकाको मेयरमा एमाले नगर कमिटीले सागर थापा, रामलाल साह, बाबुराम कार्की, पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको थियो । उपमेयरमा शिल्पा निराला कार्की, विमला घिमिरे र अन्जु उपाध्याय (शिला) को नाम सिफारिसमा परेको थियो । 

त्यसैगरी इटहरी उपमहानगरपालिकाको मेयरमा अहिलेका मेयर द्वारिकलाल चौधरीसहित उपमेयर लक्ष्मी गौतम, तैयव हुसेन, यमकुमार सुब्बा, रामप्रसाद चौलागाँई, रेवति प्रसाद घिमिरे र बन्नुलाल चौधरी गरी ७ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी उपमेयरमा अम्बिका चौधरी, बिष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, रामचरण चौधरी, मिथिला पोखरेल, गायत्री चौधरी, संगीता चौधरी र रुक्मिणी कोइराला गरी ९ जनाको नाम सिफारिस गरेको हो । 

धरान उपमहानगरको मेयरमा अहिलेकी उपमेयर मञ्जु भण्डारीसहित मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम सिफारिस गरेको जनाइएको छ । त्यस्तै एमाले धरान उपमहानगर कमिटीले उपमेयरमा सुशीला पहाडी, पदम इश्वो लिम्बु, सविता चाम्लिङ, लिला राई, इन्द्रकला राई र लहरू जिमीको नाम सिफारिस गरेको छ ।

एक महानगर र दुई उपमहानगरका नगर कमिटी हुँदै जिल्लाबाट सिफारिस भएका नामहरूलाई एमाले प्रदेश कमिटीले रायसहित केन्द्रमा पठाउने तयारी गरेको हो । स्रोतका अनुसार विभिन्न आवश्यकतालाई मिलाउनका लागि भन्दै नगरबाट प्राप्त भएका नाममा प्रदेश कमिटीले केही नाम थपेर केन्द्रमा सिफारिस गर्ने तयारी गरेको जनाइएको छ ।

विराटनगरको मेयरका लागि एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डीत र केन्द्रीय सदस्य जीवन घिमिरेले पार्टी केन्द्रमै आफ्ना कुरा राख्ने भनेकोले उनीहरूको नाम समेत थपेर पठाउने तयारी भइरहेको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x