रेशमको नागरिक उन्मुक्ति पार्टी एक्लै चुनावमा होमिँदै, कैलालीका सबै पालिकामा लड्ने
काठमाडौं– जेल जीवन बिताइरहेका सांसद रशेमलाल चौधरीकी श्रीमती रञ्जीता चौधरी श्रेष्ठको नेतृत्वमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी आगामी स्थानीय तहको निर्वाचनमा एक्लै होमिने भएको छ । उन्मुक्ति पार्टीले कैलालीका सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने निर्णय गरेको पार्टी अध्यक्ष रञ्जीता चौधरी श्रेष्ठले जानकारी दिइन् ।
अध्यक्ष श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचका लागि पार्टीले केही उम्मेदवारको टुंगो लागिसकेको र बाँकीको छिट्टै टुंगो लाग्ने बताइन् । ‘अबको केही दिनमै सबैको टुंगो लाग्ने छ,’ श्रेष्ठले इकागजसँग भनिन् ।
उन्मुक्ति पार्टीले हालसम्म धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ । पार्टीले धनगढी उपमहानगरको मेयरमा मीनराज चौधरी, टीकापुर नगरपालिकाको मेयरमा रामलाल डंगौरा थारु, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी, लम्की चुहा नगरपालिकाको मेयरमा गणेश उपाध्यायको नाम टुंगो लगाइसकेको छ। पार्टीले कैलारी गाउँपालिकाको टुंगो पनि लगाइसकेको छ। कैलारीबाट पार्टीले चन्द्र डंगौरा थारुलाई उठाउने निर्णय गरेको छ ।
बाँकी रहेका तहका आकांक्षीहरूको संख्या बढी भएकाले अहिले नै निर्णय गर्न नसकिएको श्रेष्ठले बताइन् । बाँकी रहेका तहको निर्णय अबको केही दिनमै हुने उनले जानकारी दिइन् ।
अध्यक्ष श्रेष्ठले स्थानीय तहको निर्वाचनमा कुनै पनि पदका लागि आफ्नो उम्मेदवारी नरहने बताइन्। उनले आफू प्रतिनिधि सभाको निर्वाचनमा उठ्ने पनि बताइन् ।
तीन महिनाअघि निर्वाचन आयोगबाट ढकिया चुनाव चिह्न पाएर दर्ता भएको यस दलको टीकापुर, लम्की चुहा, जानकी लगायतमा राम्रो प्रभाव छ। कैलालीमा उन्मुक्ति पार्टीसहित ५ पहिचानवादी मधेशी दल चुनावमा होमिएका छन् ।
एक्लै चुनाव लड्ने घोषणा गरे पनि सो पार्टीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले लगायतका दललाई स्वागत गरिरहेको छ । चुनावका लागि पार्टीले प्रचार प्रसारको कार्यलाई तीव्रता दिएको पनि बताइन् ।
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा रेशमलाल चौधरी तत्कालील राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । चौधरी अदालतबाट टीकापुर घटनामा मुख्य दोषी ठहर भई विगत ३ वर्षदेखि जेल जीवन बिताइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया