स्थानीय तह निर्वाचन
गठबन्धन भागबण्डा : बालुवाटारमा कुरा मिल्दा स्थानीय तहमा असन्तुष्टि !
काठमाडौं - सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएसँगै नेपाली कांग्रेससहितका दलमा चर्को असन्तुष्टि देखिएको छ । तीन दिनयता लगातार छलफलमा जुटेका सत्ता गठबन्धनका दलहरूको बुधबार बसको बैठकले भागवण्डा टुंगो लगाएको थियो ।
दलहरूबीच केन्द्रमा भागवण्डा टुंगो लाग्दा स्थानीय स्तरमा विरोध भइरहेको छ भने नेताहरूले असन्तुष्टि जनाएका छन् ।
जनकपुर र वीरगञ्ज जसपालाई दिने निर्णय भएसँगै त्यहाँ कांग्रेस कार्यक्ताहरू क्रुद्ध भएका छन् ।
कांग्रेस जनकपुरका नगर अध्यक्ष मनोज साहले निर्णय स्वीकार नगर्ने चेतावनी दिए । निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी नेता कार्यकर्ताले दिएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गठबन्धनले गरेको छ तर स्थानीय कांग्रेस नेता कार्यकर्ता सन्तुष्ट छैनन् । बुधबार दिउँसै उनीहरूले विज्ञप्ति निकालेर एकीकृत समाजवादीलाई दिए एक्लै प्रतिस्पर्धा गर्ने चेतावनी दिएका थिए ।
सत्ता गठबन्धनको छलफलमा अड्चन पैदा गरेको कास्कीको पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको छ । तर कांग्रेस कार्यकर्ताहरू सन्तुष्ट छैनन् । स्थानीय तहमा एकीकृत समाजवादीको जनाधार नभएको भन्दै कांग्रेसले आफूले पाएमात्र चुनाव जित्न सकिने दाबी गर्दै आएको छ । केन्द्रमा गठबन्धन बनेसँगै पोखरा महानगर समितिले कास्की कांग्रेसको कार्यालयमा तालाबन्दी गरेको छ ।
कांग्रेसमा मात्र होइन गठबन्धनका अन्य दलका नेता कार्यकर्ताले समेत भागबण्डामा असन्तुष्टि व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाँके जिल्ला कमिटीले केन्द्रमा शीर्ष नेताबीचको सहमति नमान्ने चेतावनी दिएको छ ।
जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने सहमति बालुवाटारमा भएपछि जसपा नेताहरू आक्रोशित बनेका हुन् । उनीहरूले उक्त निर्णय सच्याउन अल्टिमेटम नै दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया