दल

स्थानीय तह निर्वाचन

श्रीमतीलाई उम्मेदवार बनाउने होडमा मधेशका नेताहरू

सुभाष कर्ण |
बैशाख ८, २०७९ बिहीबार ८:३० बजे

जनकपुरधाम - आसन्न स्थानीय तहको निर्वाचनका लागि पर्सामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले श्रीमतीलाई उम्मेदवार बनाएपछि अधिकांश नेताहरू आफ्ना श्रीमतीलाई उम्मेदवार बनाउन थालेका छन् ।

स्थानीय तहमा समावेशी जन प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान पर्सामा नेताका श्रीमतीलाई फापेको छ । गठबन्धनमा प्रमुखको पद एक दलले रोजेपछि अर्का दलका नेताहरूले आफ्ना श्रीमतीलाई उपप्रमुखको रूपमा अगाडि सार्न थालेका हुन् ।


मुख्यमन्त्री राउतको पैतृक गाउँ जगनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बिसमिला खातनु जनता समाजवादी पार्टी (जसपा) पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेपछि गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार मुख्यमन्त्रीले आफ्ना श्रीमतीलाई उम्मेदवार बनाएको छ ।

उपाध्यक्ष बीसमिला खातुन मुख्यमन्त्री राउतकै कारण जसपा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नु परेको बताएकी छिन् ।  जगरनाथपुर गाउँपालिकामा मुख्यमन्त्रीको श्रीमती जुलेखा खातुन उपाध्यक्ष पदको उम्मेदवार बनी सरकारी गाडी चढेर मत माग्दै हिड्न थालेपछि जसपा छोडेर माओवादीमा प्रवेश गर्न परेको आरोप बीसमिलाले लगाएकी छिन् ।

यता मुख्यमन्त्री राउतले आफ्ना श्रीमतीलाई आफूले उम्मेदवार आरोप गलत रहेको भन्दै पार्टीका स्थानीय कार्यकर्ताले उचालेर उनलाई उपाध्यक्षमा उम्मेदवार बनाएको बताएका छन् ।

तर, मुख्यमन्त्री राउतले भने पार्टीका कार्यकर्ताहरूको उक्साहटमा उम्मेदवार बनेको दाबी गरेका छन् । 

मुख्यमन्त्रीको श्रीमती उपाध्यक्षको उम्मेदवार बनेपछि प्रदेशको एकमात्र महानगरपालिका रहेको वीरगञ्ज महानगरपालिकामा पार्टीका नेताहरूले आ-आफ्ना श्रीमतीलाई उपप्रमुखमा नाम अघि बढाउन थालेका छन् । महानगरपालिकाको उपप्रमुखमा गठबन्धनको भागबण्डामा कांग्रेसले पाएको छ ।

सो पदमा कांग्रेसबाट निवर्तमान सभापति अजय द्ववेदीको श्रीमति डा. शुष्मा तिवारीको नाम चर्चामा रहेको छ । डा. तिवारी नेतृ नभए पनि समाजसेवी र महिला अधिकारकर्मीको रूपमा परिचित छिन् । उनी उपप्रमुखको प्रबल दाबेदार रहेको छ ।

वीरगञ्ज महानगरको उपप्रमुखका लागि सत्ता गठबन्धनकै अर्का दल नेपाल कम्युनिष्ट पार्टी समाजवादीको तर्फबाट पनि नेता चिरञ्जीवी आचार्यले आफ्ना श्रीमती सोफिया आचार्यको नाम अगाडि सारेको छ । 

चिरञ्जीवी आचार्य एमालेको संस्थापक नेता हुन्, नेकपा समाजवादी विभाजन भएपछि उनी सो पार्टीमा गएका हुन्। गत स्थानीय चुनावमा एमालेको तर्फबाट लडेकी सोफिया आचार्य १० हजार ६ सय ६३ मत प्राप्त गरेर तेश्रो स्थानमा रहेकी थिइन् ।

सत्ता गठबन्धनका अर्का दल भागबण्डामा प्रमुख पद पाएका जनता समाजवादी पार्टीको तर्फबाट पर्सा क्षेत्र नम्बर ३ का प्रदीप यादवले पनि वीरगञ्ज महानगरपालिकाका लागि आफ्ना श्रीमती पिंकी यादवको नाम अघि सारेका छन् । पिंकी यसअघि तात्कालीन समाजवादी पार्टीबाट २०७४ को स्थानीय निर्वाचनमा उपमेयमा लडेर १८ हजार ५ सय ३० मत पाएर दोस्रो स्थान प्राप्त गरेकी थिइन् ।

उता लोकतान्त्रिक समाजवादी पार्टीले वीरगञ्ज महानगरको उपप्रमुखमा रम्भा मिश्रलाई उम्मेदवार बनाउने चर्चा छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x