दल

प्रचण्डको आश्‍वासन : पदाधिकारी चयनको निर्णय तत्काल कार्यान्वयन हुँदैन, पार्टीमा छलफल गरेर निर्णय हुन्छ

इकागज |
बैशाख ८, २०७९ बिहीबार ८:४५ बजे

काठमाडौँ- अनेरास्ववियू (क्रान्तिकारी)को पदाधिकारी चयनमा तीब्र विवादपछि असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।  बुधबार प्रचण्डलाई भेटेर उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्र बुझाएपछि प्रचण्डले जुम बैठकबाट गरिएको निर्णय अहिले कार्यान्वयन नहुने बताएको असन्तुष्टि समूहका पवन कार्कील‍े इकागजलाई बताए । 'बिना सहमति जुम बैठकबाट पदाधिकारी घोषणा गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको छ' प्रचण्डको भनाइ उदृत गर्दै कार्कीले भने 'पदाधिकारी चयन कार्यान्वयन नहुने बताउनुभयो ।' पदाधिकारी चयनको विषयमा पार्टीमा गम्भीर छलफल गरेर निर्णय गर्ने प्रचण्डले बताएको कार्कीले दाबी गरे ।


गतआइतबारको जुम मिटिङमा पदाधिकारी घोषणा भएपछि अनेरास्ववियूमा विवाद चर्किएको थियो । उक्त बैठकले महासचिवमा दिपेश पुन, उपाध्यक्षहरूमा इन्द्र भुसाल, मिलन केसी, तुकमान महरा, लक्ष्मीप्रसाद जोशी, जिपि मैनाली, नरेश रेग्मी, प्रविणा अधिकारी, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज कार्की, नारायण खनाल, अमरजंग शाही, मदन भुल, राजकुमार लिम्बु, गजेन्द्र देव ,कल्पना मियाँ, अच्युत भट्ट, केशव र रावल चयन गरेको थियो ।

त्यस्तै सचिवमा खगेन्द्र सुवेदी प्रभाकर गुप्ता बद्री चुडाल कृष्ण न्यौपाने नारायण बडाल तुल्सीमणी केसी तृष्णा हमाल भीम भट्ट उपेन्द्र शाही प्रशुन कार्की विजयप्रकाश सापकोटा योगेन्द्रबहादुर बुढा सन्जय काल्दन सूर्यप्रकाश घर्तीमगर पार्वती नेगी ताजिम अन्सारी बाबुराम नेपाली सुमन श्रेष्ठ र अनिल भगत चयन भएका थिए । त्यस्तै कोषाध्यक्षमा भुसन शाही चयन भएका थिए । अध्यक्ष पन्चा सिंह भने यसअघि नै चयन भइसकेकी थिइन् ।

उपाध्यक्षमा चयन भएका कार्की समूहले भने पदाधिकारी एकलौटी चयन गरेको आरोप लगाएका थिए । माउ पार्टीको स्थायी कमिटी बैठकमा पवनलाई महासचिव बनाउन सिफारिस गरिएको तर अहिले दिपेशलाई महासचिव बनाएको भन्दै उक्त समूहले विरोध गरेको थियो ।

गतआइतबारको बैठकमा अध्यक्ष प्रचण्डले चुनावी कार्यविभाजन गरेर अगाडि बढ्‌न निर्देशन दिएको तर फ्याक्सन इन्चार्ज हितमान शाक्यले लत्याएको उनीहरूको आरोप थियो ।  केन्द्रीय सदस्य नै नभएका सुर्यनारायण शाहलाई उपाध्यक्ष बनाएको आरोप लगाएका थिए ।


Author

थप समाचार
x