गठबन्धनको विपक्षमा मकवानपुर कांग्रेस
मकवानपुर - आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ ५ दलीय गठबन्धनविरूद्व मकवानपुर कांग्रेसमा असन्तुष्टि देखिएको छ । पार्टीको सांगठनिक अवस्थालाई बेवास्ता गर्दै गठबन्धन गरेको भन्दै कांग्रेस मकवानपुरमा असन्तुष्टि सुरु भएको हो ।
पार्टी नेतृत्वको सहमति सच्याउन माग गर्दै दिनहुँ दबाबका कार्यक्रम भैरहेका छन् । हिजो नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका कमिटीले पत्रकार सम्मेलनमार्फत केन्द्रमा गठबन्धनले गरेको निर्णय हेटौंडामा नमान्ने चेतावनी दिएका थिए ।
आज कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाबाहेकका नेताहरूले पत्रकार सम्मेलन गर्दै हेटौंडाको मेयर कांग्रेसलेनै पाउनुपर्ने माग गरेका छन् ।
कांग्रेस मकवानपुरका उपसभापतिहरू आनन्द कठायत, धर्म लामिछाने, सचिव भिमसेन महत, ईश्वर पाठक, सहसचिव ईन्दिरा न्यौपाने, पूर्व सभापतिहरू माइकल रामचन्द्र अर्याल, रघुरमण न्या्रपाने, महासमिति सदस्य जयराम लामिछानेलगायतका जिल्ला स्तरका नेताहरूले पत्रकार सम्मेलनमार्फत हेटौंडाको मेयर कांग्रेसले नपाए छुट्टै उमेदवारी दिने सम्मको चेतावनी दिएका हुन्।
सरकारमा रहेका गठबन्धन दलहरूले हेटौंडाको मेयर समाजवादीलाई दिने निर्णय गरेपछि मकवनपुरका कांग्रेसका नेता तथा कार्यकर्ताहरू रुष्ट बनेका हुन् ।
गठबन्धनको निर्णय पुनराबलोकन नभए यथा स्थितिमा निर्वाचनमा जाँदा गठबन्धनको आवश्यकता, औचित्य र मर्मविपरीत परिणाम आएमा त्यसप्रति आफूहरू जिम्मेवार र जवाफदेही नहुने उपसभापति कठायतले बताए ।
कांग्रेसले हेटौंडाको प्रमुख पद पाउँदा गठबन्धनमा रहेका सबै दलहरूलाई सहज रूपमा निर्वाचनमा जाने वातावरण सिर्जना हुने बताइएको छ । केन्द्रमा भएको निर्णय तत्काल सच्याएर मात्र चुनावमा जान माग गरिएको छ ।
महिलालाई पाखा लगाइन खोजिएको भन्दै आपत्ति
आगामी स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धन बनाएर महिलालाई पाखा लगाउने अवस्था आउन लागेको भन्दै नेपाली कांग्रेस मकवानपुरका नेतृहरूले आपत्ति जनाएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाउने केन्द्रीय सहमति भएसँगै मकवानपुरमा महिलाको नेतृत्व अवसर गुम्न लागेको प्रति ध्यानाकर्षण गराइएको हो ।
कांग्रेस हेटौंडा उपमहानगर कमिटीले यस अघि मेयर र उपमेयरमा नाम सिफारिस गरेर पठाइसकेको थियो । तर अब कांग्रेसले मेयर नपाउने भएपछि यस अघि मेयरको दाबीमा रहेकाहरू उपमेयरमा ओर्लिएर उपमेयरमा सिफारिस भएका महिला नेतृहरूलाई पाखा लगाउने खोजिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
यस अघि पार्टीको वडा हुँदै नगर कमिटीले उपमेयरमा सिफारिस गरेर पठाएको पार्टी सहसचिव इन्दिरा न्यौपाने, नेतृहरू अमृता थापा र तारा कुमारी राई कार्कीले आफूहरू मध्येबाटै उपमेयर टुङ्गिनु पर्ने माग गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया