दल

विजय लामाले लेखे निर्वाचन आचार-संहिताविपरीत रेणुको पक्षमा स्टाटस

आयोग भन्छ- अध्ययन गरेर स्पष्‍टीकरण सोध्छौँ

इकागज |
बैशाख ११, २०७९ आइतबार १४:१४ बजे

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि चैत २५ गतेबाट आचारसंहिता लागू गरिसकेको छ । आचारसंहिता लागू भएपछि विभिन्न राजनीतिक दलले आयोगको ऐनमा रहेर मात्र आफ्ना प्रचारप्रसार गर्न पाउने छन् ।

निर्वाचन आचारसंहिता लागू भएपछि सरकारी कर्मचारीले पक्ष-विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन । सामाजिक सञ्जालमासमेत प्रकाशन गर्न नपाइने र कसैको पक्षमा लेखिएका कुराहरू सेयर प्रसार गर्न पाइँदैन ।


कुनै पनि सेवामा रहेका व्यक्तिले उम्मेदवारको पक्ष-विपक्षमा प्रचारप्रसार वा मत माग्‍न पाइँदैन । अझ सार्वजनिक पद धारण गरेकाले व्यक्तिले कुनै पनि उम्मेदवारको खुलेर प्रचार गर्नु भनेको निर्वाचन आचारसंहिताविपरीत मानिन्छ ।

सधैँ चर्चा र विवादमा आइरहने नेपाल वायुसेवा निगमका पाइलट विजय लामा यस पटक विवादमा मुछिएका छन् । स्थानीय निर्वाचन वैशाख ३० गते हुने भनिएको समयमा आचारसंहिता विपरीत उनले भरतपुर महानगरपालिकाको उम्मेदवार प्रमुख रेणु दाहालको समर्थनमा फेसबुकमा स्टाटस लेखेका छन् ।

दाहाल यसअघि पनि महानगरको प्रमुख भइसकेकी छिन् । सत्ता गठबन्धनले पनि उनलाई उम्मेदवार बनाउने सहमति गरिसकेको छ । उनले पनि नेकपा माओवादीको तर्फबाट उम्मेदवारको घोषणा गरिसकेकी छिन् ।

लामाले भरतपुर महानगरको मुहार फेरिएपछि दाहाललाई चिनेको बताएका छन् । 'एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धी साँच्चै गर्व गर्न लायकको हुनेछ', उनले लेखेका छन्' , उहाँले गरेको उदाहरणीय कामलाई नजरअन्दाज गर्न सकिदैन । पार्टी जुनसुकै होस व्यक्ति र परिवेश जस्तो सुकै होस । हामीलाई चाहिएको विकास र समृद्धि हो ।'

उनले जब जब भरतपुर पुग्छु भरतपुरले विकासको लय समातेको आभास भएको बताए । जसको नेतृत्व एक चेलीले गरिरहेको उनको भनाइ छ ।

विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्ने उनको भनाइ छ । यस्तै उम्मेदवार आएमा थप विकास गर्न सकिनेतर्फ लक्षित गर्दै उनले थप लेखेका छन', चेलीहरू नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनुपर्छ ।'

सार्वजनिक संस्थामा रहेका व्यक्तिले उम्मेदवारको पक्ष-विपक्षमा विचार वा धारणा बनाउन नपाइने निर्वाचन आयोगका एक कर्मचारीले बताए । उनका अनुसार क्याप्टेन विजय लामाले उम्मेदवारको पक्षमा कसरी लेखेका छन त्यसको अध्ययन गरिन्छ ।

कुन उदेश्य राखेर लेखेका हुन् त्यस विषयमा बुझेर स्पष्टीकरण सोधिने उनको भनाइ छ । कसैले कुनै पनि उम्मेदवारको बारेमा लेखेर प्रचारप्रसार गर्न नपाइने उनले बताए ।

 

 

 

 


Author

थप समाचार
x