दल

राजनीतिक दलको उम्मेदवारी दर्तामा उत्साह

इकागज |
बैशाख १२, २०७९ सोमबार १९:२८ बजे

फाइल फोटो

विराटनगर - आसन्न स्थानीय तहको निर्वाचन–२०७९ को विराटनगर महानगरपालिका सबै राजनीतिक दलका उम्मेदवारले उत्साहका साथ आआफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनय दर्ता गर्नेमा पाँच राजनीतिक दलको गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट अमरेन्द्रकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । 


 सोही निर्वाचनका लागि नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका लागि सागर थापा र उपप्रमुखका लागि शिल्पा निराला कार्कीले उम्मेदवारी दर्ता गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ । राप्रपाबाट प्रमुख पदका लागि प्रल्हाद साह र उपप्रमुख पदका लागि बिन्दा लुइँटेल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । 

यसअघि स्वतन्त्र उम्मेदवारको रूपमा दमदार पूर्वजसपाका जिल्ला तहका नेता उमेश यादवले प्रमुख पदका लागि मनोनय दर्ता गरेका छन् । मनोनयन दर्ता गदै नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका आकांक्षी नागेश कोइरालाले विराटनगरलाई सफा सहरको रूपमा विकास गरी महानगरवासीलाई खुशी तुल्याउने प्रतिबद्धता व्यक्त गरे । 

नेकपा (एमाले) प्रमुख पदका उम्मेदवार सागर थापाले शिक्षा, स्वास्थ्य, सुकुुम्वासी तथा नगरको डुबानलाई विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । राप्रपाका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रल्हाद साहले नगरको विकाससँगै सौन्दयर्तामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । साहबाहेक सबै उम्मेदवार नयाँ हुन् भने साह राजा ज्ञानेन्द शाहको शासन कालमा तत्कालीन विराटनगर उपमहानगर पालिकाको प्रमुख थिए ।

विराटनगर महानगरपालिकाको सबै वडामा राजनीतिक दलका प्रतिनिधिले आआफ्ना उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका क्रममा कुनै पनि अप्रिय घटना नभएको र उम्मेदवारी दर्ता गर्न सहज वातावरण बनाएको प्रमुख निर्वाचन अधिकृत भरत लाम्सालले जानकारी दिए । उम्मेदवारी दर्ता गराउने कार्य अझै पनि जारी छ ।
रासस


Author

थप समाचार
x