विजय लामा बारम्बार आचार-संहिताविपरीत उम्मेदवारको पक्षमा किन लेख्छन् ?
निगम भन्छः अध्ययन गरिन्छ
काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गरिसकेका छन् । मनोनयनसँगै उम्मेदवारहरूले आफ्नो पक्षमा मत माग्न थालेका छन् । कतिपय उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिसकेका छन् ।
उम्मेदवारले मात्र आफ्नो पक्षमा मत मागेका छैनन् । खेलाडी,कलाकार र संस्थानका कर्मचारीले समेत मत मागिरहेका छन् । सामाजिक सञ्जालमा फोटोसहित उम्मेदवारको पक्षमा योग्य उम्मेदवार भएकाले एक पटक काम गर्न दिनुपर्छ भन्दै आफ्ना धारणाहरू सार्वजनिक गरिरहेका छन् ।
गत चैत २५ गतेबाट निर्वाचन आचारसंहिता पनि लागू भइसकेको छ । आचारसंहिता लागू भएपछि सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीले उम्मेदवारको पक्षमा प्रचार-प्रसार गर्न पाइँदैन । सामाजिक सञ्जालमा लेख्नसमेत नपाइने व्यवस्था छ ।
सामाजिक सञ्जालमा सक्रिय सेलिब्रेटी नेपाल वायु सेवा निगमका पाइलट विजय लामाले केही दिनदेखि निरन्तर स्थानीय तहको उम्मेदवारको पक्षमा स्टाटस लेखिरहेका छन् । उनले हरेक उम्मेदवारको फोटोसहित स्टाटस लेख्दा जय चन्द्र सूर्य लेख्न पनि छुटाउँदैनन् ।
तीन दिनअघि भरतपुर महानगरपालिकाका प्रमुख उम्मेदवार रेणु दाहालको पक्षमा लेखेका थिए ।
सोमबार लामाले काठमाडौँ महानगरपालिकाको स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका प्रमुख बालेन शाहको पक्षमा लेखे । मंगलबार बिहानै पुनः काठमाडौँ महानगरपालिकाकी उम्मेदवार उपप्रमुख सुनिता डंगोलको पक्षमा लेखेका छन् ।
लामाले देशलाई परिवर्तन युवाले नै गर्नु पर्छ भन्ने सबलाई लागेको बेलामा, सुनिता डंगोल जस्तो होनहार युवा राज्यको संवेदनशील पद सम्हाल्न तयारी गरिरहेको देख्दा खुसी लाग्ने बताएका छन् ।
'एक चोटी सुनिता डंगोल जस्ता युवालाई मौका दिएर त हेरौं,' उनले लेखेका छन्' हाम्रो नेपाली युवाको देशप्रतिको परिवर्तनको सोचलाई विश्वास त गरौ, नेपाल सँच्चिनै परिवर्तन हुने छ l यो आट, साहस र सोच को लागि शुभकामना ।'
नेपाल वायुसेवा निगम एउटा सरकारी संस्था हो । निर्वाचन आयोगले आचारसंहितामा सरकारी कर्मचारीले उम्मेदवारको फोटो सामाजिक सञ्जालमा सेयर, लाइक र कमेन्ट गर्न नपाइने व्यवस्था छ । तर, उनले भने आयोगको बारम्बार आचारसंहिता उल्लंघन गर्दै आफ्नो सामाजिक सञ्जालमा दैनिक जसो उम्मेदवारको फोटो हाल्दै स्टाटस लेखिरहेका हुन्छन् ।
विवादमा आइरहने पाइलट लामाले आखिर किन उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा लेखिरहन्छन् । निर्वाचन आचारसंहिता सबैलाई लागू हुनु पर्ने हो । अझ उनी सरकारी संस्थानका कर्मचारी समेत हुन् ।
निर्वाचन आयोगका आचारसंहिता अनुगमन गर्ने एक कर्मचारीले उनले लेखेको कुराहरू आयोगमा मौखिक गुनासो परिरहेको बताए ।
उनले भने', सरकारी कर्मचारीले सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारको फोटो, लाइक र सेयर समेत गर्न पाइँदैन । उनले किन उम्मेदवारको प्रचारप्रसार गरिरहेका छन् त्यस बारेमा बुझ्छौ ।' आयोगले उनलाई स्पष्टीकरण पनि सोध्न सक्ने उनले बताए ।
विजय लामा अहिले पनि नेपाल वायु सेवा निगममा रहेको बताउँछिन् नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्का । पाइलट लामाले कस्तो स्टाटस लेखेका हुन् त्यस बारेमा निगमले अध्ययन गर्ने उनले जानकारी दिइन् ।
'निगमको उच्च अधिकारीसमक्ष पाइलट लामाले लेखेका कुराहरू राख्छौ,' उनले भनिन्', पाइलट लामाको विषयमा निगमले केही दिनमा धारणा सार्वजनिक गर्ने छ ।'
यो पनिः
विजय लामाले लेखे निर्वाचन आचार-संहिताविपरीत रेणुको पक्षमा स्टाटस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया