दल

केपी ओली र गगन थापाबीच कटाक्ष

'ओलीमा अहंकारकाे भ्यूटावर छ' (भिडीयोसहित)

इकागज |
बैशाख १४, २०७९ बुधबार १६:२५ बजे

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको कटाक्षको अर्को अध्याय नेपाली कांग्रेसको घोषणापत्र बनेको छ । ओलीले नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित गरी सार्वजनिक गरेको संकल्पलाई ‘पागलहरूको प्रलाप’ भनेका थिए । त्यस्तै, उनले घोषणापत्र निर्माणको संयोजन गरेका कांग्रेसका महामन्त्री थापालाई लक्षित गर्दै  एमालेको घोषणापत्रबाट ‘लद्दु विद्यार्थीले जसरी ढंग नपुर्‍याई चिट चोरेको’ शैलीमा घोषणापत्र बनाएको बताएका थिए । 

थापाले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो घोषणापत्रमा अघि सारेको ‘समुन्नत नेपाल’ को अवधारणालाई ओलीले उनको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सोचको नक्कल गरिएको भनिएका थिए । 


काठमाडौँमा गगन थापासँग ओलीले आफ्नो पार्टीबाट राजन भट्टराईलाई प्रतिस्पर्धा गराएका थिए । २०७४ को निर्वाचनमा ओलीले उक्त निर्वाचन क्षेत्रमा आमसभाका क्रममा ‘थापाको लोकप्रियता सेल्फी खिच्‍नमात्र काम लाग्ने’ भनेका थिए । 

पछि संसदमा त ओली र थापाको नियमित जुहारी चल्ने गथ्र्यो । थापाले ओलीलाई कोभिड–१९ महामारीको समयमा जथाभावी अप्रमाणित अभिव्यक्ति नदिन आग्रह गर्दै संसदमा प्रश्न सोधेका थिए, ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च छ भनेर कसले भनेको ?’ 

ओलीले रोष्ट्रमबाट जवाफ फर्काएका थिए, ‘मैले भनेको सुन्नुभएन ?’

नेपाली कांग्रेसको घोषणापत्रमा नेकपा सरकारका अनियमितता, संवैधानिक अंग र राज्यका निकायको कम्युनिष्टीकरण गरेको तथा बिना कुनै उपलब्धि दुई तिहाई बहुमतको सरकार चकनाचुर बनाएको उल्लेख गरिएको छ । एमालेले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट बनेको ‘परमादेशी सरकार’ भन्दै आएकोमा कांग्रेसको घोषणापत्र नै सर्वोच्च अदालतको आदेशबाट भएको उल्लेख गर्दै एमालेमाथि कटाक्ष गरिएको छ । यो घोषणापत्रपछि दुई नेताबीच भनावैरी सुरु भएको हो । 

थापाले ओलीले घोषणापत्रलाई लिएर भनावैरी गरेपछि ओलीले सनकमा सबैलाई पागल भन्ने गरेको र उनको पागलपनका जादूमयी भ्यूटावरका सपना नदेखाएर आफूले घोषणापत्रमा आम जनताको साझा संवृद्धिको लागि गर्न सकिने यथार्थबारे जनतालाई बताएको थापाले उल्लेख गरेका छन् । उनले ओलीले सनकमा यसअघि पनि सर्वोच्चकी पूर्वन्यायाधीश शुशीला कार्की, चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसी लगायतलाई पनि पागल भनेको भन्दै उनले कुनै विषयवस्तुमा भन्दा आफ्नो आवेगको आगो शान्त पार्न अरुलाई गाली गर्ने गरेको आरोप लगाए । 

थापाले नेपालको विकास आवश्यकता र यथार्थ धरातलका सम्बन्धमा एमाले अध्यक्ष ओलीलाई फुर्सद मिलाएर बालकोट नै गएर ट्युसन पढाउने बताएका छन् । 


 


Author

थप समाचार
x