दल

अनेकन अफर आएका छन्; तर, मेयरको उम्मेदवारी फिर्ता लिन्नः पौडेल

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १३:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- चितवन भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नगर्ने अडान दोर्‍याएका छन् ।इकागजसँग संक्षिप्‍त कुरा गर्दै उनले भने', जोसुकैले आग्रह गरे पनि उम्मेदवारको फिर्ता लिन सक्दिन । स्थानीय तहमा उम्मेदवारी दर्ता गरेर स्वतन्त्रताको अधिकार प्रयोग गरेको हुँ ।'

'चुनाव चिन्ह पाउने समयमा मनोनयन फिर्ता गरेर केही हासिल हुँदैन,' उनले थपे,' मेरो शुभेच्छुकलाई निराश बनाउन चाहन्न ।'  नेताहरूले विभिन्न लोभ लालच पनि देखाएको उनले जानकारी दिए । राष्‍ट्रिय सभाको सभा सदस्यदेखि अन्य विभिन्न पदको अफर आएको उनको भनाइ छ । आफ्नो अधिकार कसैको लालचमा परेर उम्मेदवार फिर्ता नगर्ने अडान दोर्‍याएका छन् । यद्यपि राष्ट्रियसभामा सरकारकाे सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सदस्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाल नियुक्त भैसकेका छन् । नारायण दाहाललाई राजीनामा गराएर उनलाई ल्याउन सकिन्छ कि भन्ने विकल्पमा पनि छलफल भएको बुझिएकाे छ । 


पौडेल नेपाली कांग्रेसको नेता हुन् । उनी चितवनको कांग्रेसको पुराना नेताको रुपमा चिनिन्छन् । महानगरमा सत्तागठबन्धनले नेकपा माओवादीको रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार मनोनयन गराएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसले आफ्नो उम्मेदवार मनोनयन गराएको छ ।

पौडेललाई उम्मेदवार फिर्ता गराउन काठमाडौँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँड र विना विभागीय मन्त्री उमेश श्रेष्ठसमेत पुगेका छन् । 

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो । 

 

 


Author

थप समाचार
x