दल

भरतपुरबाट फर्केका गृहमन्त्री खाँड सीधै बालुवाटार छिरे

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १६:२४ बजे

काठमाडौँ– भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाललाई समर्थन गराएर स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउन तीन दिनदेखि चितवनमा रहेका गृहमन्त्री बालकृष्ण खाँड तेश्रो दिन काठमाडौँ फर्केर सीधै बालुवाटार छिरेका छन् । 

उनी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटर पुगेका हुन् । आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । उम्मेदवारहरूलाई निर्वाचन आयोगले भोलि चुनाव चिन्ह प्रदान गर्दैछ । 


पौडेलले आफू कांग्रेसको उम्मेदवार नभएर स्वतन्त्र उम्मेदवार भएको भन्दै फिर्ता नहुने अडान राखेका थिए । उनले गृहमन्त्री खाँडलाई आफूलाई बागी उम्मेदवार नभन्न पनि आग्रह गरेर पठाएको बुझिएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहाल उम्मेदवार रहेको भरतपुरमा पूर्व सांसद एवं कांग्रेसका पुराना नेताले पनि उम्मेदवारी दिएपछि गठबन्धनको गाँसमा ढुंगा लागेको भन्दै दाहाल, देउवा लगायतले पनि पौडेललाई फोन गरेर बस्न आग्रह गरेका थिए । 

देउवाले त पौडेललाई काठमाडौँ आउन र आफूसँग कुराकानी गर्न आग्रह गरेका थिए । तर पौडेलले मानेनन् । 

पौडेलले आफूलाई धेरै आश्वासन दिइएको र त्यसमा लागेर आफूले निष्ठा र इमानदारिता नगुमाउने बताएका छन् । उनले रेणु दाहालले उम्मेदवारी झिकेर आफूलाई समर्थन गरे गठबन्धनलाई अप्ठेरो नपर्ने विकल्प पनि दिएका थिए । 

चितवनका पुराना कांग्रेस नेता र कार्यकर्ताले पौडेललाई खुट्टा नकमाउन भनेका छन् । 

देउवाले पौडेललाई सम्झाउन पहिले विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठ र पछि खाँडलाई पठाएका थिए । आज विहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पार्टीको निर्णय नमानेर स्वतन्त्र उम्मेदवारी दिनेलाई निष्काशन गर्ने, गठबन्धन बाहेकका तालमेल रद्द गर्ने र गठबन्धनबाट परेका दोहोरो उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको थियो । 

पौडेलले आफूमाथि कांग्रेसले जुसुकै निर्णय लिए पनि ग्राह्य हुने र त्यसले स्थानीय निर्वाचनमा कुनै प्रभाव नराख्ने बताएका छन् । 
 


Author

थप समाचार
x