दल

लोसपाको घोषणापत्र: कांग्रेस नाम मात्रैको ठूलो, कम्युनिस्ट विचार शून्य (पूर्णपाठ)

इकागज |
बैशाख १८, २०७९ आइतबार १२:४७ बजे

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सार्वजनिक गरेको घोषणापत्र नेपालमा रहेका अधिकांस मुख्य राजनीतिक दल विचार-शून्यताको अवस्थामा सञ्चालन गरेको आरोप लगाइएको छ। शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा गणतान्त्रिक संविधान प्राप्तिको लागि आधा दशकभन्दा पनि कम समयमा दलहरूको अकर्मण्यताले संसद्, संविधान र लोकतन्त्रिक प्रणालीको विश्वासनीयतामाथि नै प्रश्न चिन्ह लाग्न सक्ने अवस्था सिर्जना भएको उल्लेख छ।

कांग्रेस पार्टी नाम ठूलो, काम सानो


लोसपाले नेपाली कांग्रेसलाई नाम ठूलो तर काम सानो भएको पार्टी भएको दाबी गरेको छ। नेपाली कांग्रेसः नाम ठुलो, काम सानो शीर्षकमा लोसपाले कांग्रेसको आलोचना  गर्दै 'जबजब मधेसी, शिल्पी र दलित, थारु, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्गलगायत बहिष्करण तथा वन्चितीकरणमा परेका र पारिएकाहरूको पहिचान, अधिकार र अवसरको कुरा गरिन्छ, नेपाली कांग्रेस एक जिम्मेवार राष्ट्रिय दलको भूमिकालाई बिर्सँदै अत्यन्तै संकीर्ण, अनुदारवादी र जातीय दलको रुपमा आफूलाई संकुचित गर्छु' भन्ने उल्लेख छ।

कांग्रेसलाई जनताले अनेकौं पटक बहुमत दिए पनि राष्ट्रिय र दूरगामी सोचमा कमी, असक्षम र अदुरदर्शी नेतृत्व र दलभित्र रहेका अनेकौं विवाद एवम् अन्य आन्तरिक द्वन्द्वका कारणले जनताले आफूलाई दिएको भूमिका र अवसरलाई नेपाली कांग्रेसले सदुपयोग गर्न नसकेको लोसपाको भनाइ छ। नेपाली कांग्रेस सजग, सचेत र समझदार भइदिएको भए अनेकौं पटकको मधेसरथरुहट आन्दोलन र ती आन्दोलनहरूमा दर्जनौं निर्दोष नेपालीहरूले ज्यान गुमाउनु नपर्ने घोषणापत्रमा उल्लेख गरेको छ।

नेपालका कम्युनिस्ट पार्टीहरू: विचार शून्य  सत्तालोलुप राजनीतिक उद्यमी

लोसपाले आफ्नो घोषणापत्रमा 'नेपालका कम्युनिस्ट पार्टीहरू स्वरुपमा राजनीतिक दल देखिए तापनि यी विचार, आचरण र व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकार र सत्तामा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने तथाकथित उपल्लो जातिहरूको राजनीतिक उद्यम गर्ने संगठनहरू हुन्', उल्लेख गरेको छ, 'लगभग सबै कम्युनिस्ट पार्टीहरूको माथिल्लो नेतृत्व तहमा रहेका २० जना नेताहरूको अनुहार हेर्ने हो भने पनि छर्लङ्ग हुन्छ कि ती केही जाति विशेषका पुरुषहरूको बाहुल्यता र वर्चस्व भएको पार्टीहरू हुन्। त्यहाँ मधेसी, दलित, मुस्लिम, महिला आदिको शून्यप्रायः उपस्थितिले यी संगठनहरूका जातीय र नश्लीय सोंच आफैँमा पुष्टि हुन्छ।'

कम्युनिस्ट पार्टीहरू राष्ट्रिय विकासमा तगारो हाल्ने सबैभन्दा अग्रणी संगठनहरू भएको आरोप लोसपाले आफ्नो घोषणापत्रमा लगाएको छ। 'अरुण-तेस्रो जलविद्युत आयोजना बन्ने क्रममा विश्व बैंकलाई पत्र नै लेखेर रोकेको वास्तविकता होस्, काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको सबै तयारी पूर्ण हुन लागेको अवस्थामा विभिन्न बखेडा झिकेर अवरुद्ध गरेको अवस्था होस् अथवा पछिल्लो कालखण्डमा नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो अनुदानअन्तर्गत विद्युत प्रशारणको दृष्टिले नेपालको मेरुदण्ड मानिएको आयोजना निर्माण गर्न नेपाल आएको एमसीसीलाई बिथोल्न गरेको अचम्मको प्रयास होस्, नेपालका कम्युनिस्ट पार्टीहरू मुखले विकास भने पनि विकासलाई सधैँ अलपत्र पर्दै आएका दुई-जिब्रे संगठनहरू हुन्' भनिएको छ।

 


Author

थप समाचार
x