दल

गठबन्धनको विरोध गर्नु भनेको प्रतिगमनलाई प्रश्रय दिनु होः पौडेल

इकागज |
बैशाख १८, २०७९ आइतबार १५:३४ बजे

फाइल फोटो

दमौली - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताएका हुन् । 


नेता पौडेलले श्रमिकलाई तल्लो दर्जामा राख्ने कुसंस्कृति अन्त्य नभएको भन्दै श्रमिकलाई मर्यादा दिने सभ्यता अझै बसाउन नसकिएकोमा चिन्ता ब्यक्त गरे । `श्रमको सम्मान गर्ने कामको थालनी नेपाली कांग्रेसको नेतृत्वमा भएको हो, श्रमलाई हेला गर्ने प्रवृत्तिको अन्त्य पनि कांग्रेसले नै गर्छ` उनले भने । 

समाजवादको लक्ष्य निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउँदै पौडेलले कांग्रेसको मूल लक्ष्य त्यही भएको जिकिर गरे । गाउँ–गाउँमा रोजगारी र आम्दानीलाई सार्थक बनाउन कांग्रेस नेतृत्वको सङ्घीय, प्रदेश र स्थानीय सरकार लागिपर्ने पौडेलको भनाई थियो । 

उनले भने, `विगतमा धेरै सरकार बने पनि श्रमिकको सम्मान हुन सकेन, निर्वाचनपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नै श्रमिकलाई सम्मानजनक रोजगारीको ग्यारेन्टी गर्नेछ ।`

नेता पौडेलले कांग्रेसले अन्य पार्टीसँग गरेको गठबन्धनलाई अन्यथा नलिन कार्यकर्तालाई आग्रह गरे । कांग्रेससँग भएको जनमतलाई ध्यानमा राखेर गठबन्धन गरिएको भन्दै उनले गठबन्धनले कांग्रेसलाई फाइदा पुग्ने दावी गरे । `२३ सिटमा रहेको कांग्रेसलाई ९३ सिटमा पु¥याउन गठबन्धन गरिएको हो, यसले कांग्रेसलाई नै बलियो बनाउनेछ,` उनले भने । 

नेता पौडेलले सबैको सहयोग लिएर कांग्रेसलाई बहुमतमा पुर्‍याउन गठबन्धन गरिएको भन्दै संविधानको रक्षा र परिवर्तनलाई जोगाउन गठबन्धन आवश्यक रहेको धारणा ब्यक्त गरे ।  देशलाई स्थायित्वमा लैजान आवश्यक रहेको र त्यसको नेतृत्वले अहिले कांग्रेसले गरेको उनको भनाई थियो ।

`गठबन्धनको विरोध गर्नु भनेको प्रतिगमनलाई प्रश्रय दिनु हो, गठबन्धनको पक्षमा द्विविधामा रहन आवश्यक छैन, सबैले गठबन्धनलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्छ,` उनले भने । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार बैकुण्ठ न्यौपानेले श्रमिकका हकहितका लागि आफूले सङ्कल्प गरेको बताए । रासस


Author

थप समाचार
x