इकागज स्कुल
भोट कसरी हाल्ने ? चाल पाउन पढनुस् यी १७ प्रश्न
२०७४ को स्थानीय तहको निर्वाचनमा ५ लाख ८८ हजार ४ सय १ मत बदर भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार बागमती प्रदेशमा मात्रै ३ लाख ५७ हजार २२ मत खेर गएको थियो । यस पटक पनि स्थानीय निर्वाचन सन्निकट छ । भोट अपिल गर्दै पार्टीका नेता र कार्यकर्ताहरू घरदैलो कार्यक्रममा व्यस्त छन् । उनीहरूले भोट त मागिरहेका छन् तर भोट हाल्ने तरिका भने सिकाइरहेका छैनन् । भोट कसरी हाल्ने भन्ने थाहा नहुँदा यसपटक पनि धेरै मत बदर हुने आशंका छ । हाम्रो एक मत बदर हुनाले हामीले जिताउन चाहेको उम्मेदवारले हार्न सक्छ । यसपटकको इकागज स्कुलमा हामी भोट हाल्ने सही तरिकाबारे चर्चा गर्छौँ :
मतदाता हुन के चाहिन्छ ?
स्थानीय निर्वाचनमा मतदान गर्न १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको हुनुपर्ने व्यवस्था छ । उमेरको योग्यता पुगेका कारण मात्रै मतदानमा भाग लिन पाइँदैन । मतदानमा सहभागी हुन निर्वाचन आयोगले संकलन गर्ने मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ र मतदाता परिचयपत्र अनिवार्य हुनुपर्छ ।
मतदान गर्न कहाँ जानुपर्छ ?
आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मतदान गर्न सकिन्छ । स्थानीय तहको कुन मतदान केन्द्रमा आफ्नो नाम समावेश छ भन्ने थाहा पाउन निर्वाचन आयोगको वेबसाइटमा हेर्न सकिने व्यवस्था छ ।
स्थानीय निर्वाचनमा भोट क–कसलाई हाल्नुपर्छ ?
एकजना मतदाताले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र थप दुई जना वडा सदस्य गरी सात उम्मेदवारका लागि मतदान गर्नु पर्नेछ । सातवटै उम्मेदवारका लागि एउटै मतपत्रमा कोलम र चिह्न छुट्याइएको हुन्छ । मतदाताले सातै स्थानमा स्वस्तिक चिह्न लगाउनुपर्ने हुन्छ ।
ती सातैजनालाई हाल्ने कि जसलाई मन लाग्यो उसैलाई मात्र हाल्दा हुन्छ ?
मतपत्रमा सातै जनालाई भोट हाल्न पाउने अधिकार हुन्छ । तर, मतदाताले जसलाई मन लाग्यो उसलाई मात्र पनि भोट हाल्न पाउँछन् ।
सुरुमा एउटा पार्टीका उम्मेदवारलाई हालेपछि सबै त्यही पार्टीको उम्मेदवारलाई मात्र भोट हाल्नुपर्छ हो ?
होइन । त्यो मतदाताको व्यक्तिगत अधिकार हो । एउटै पार्टीको सातै जनालाई मत दिनुपर्छ भन्ने छैन । पदअनुसार फरक–फरक पार्टीलाई मत दिन सकिन्छ । तर, यसो गर्दा विचार पु¥याउनु पर्छ । मतपत्रको ठाडो कोलममा रहेका चिन्हमा एउटामा मात्र भोट दिन मिल्छ ।
ठाडो कोलममा एउटाभन्दा बढी भोट दिँदा के हुन्छ ?
त्यो मत बदर हुन्छ । ठाडो कोलममा भएका चुनाव चिह्नहरू मध्ये एउटामा मात्रै मत दिन सकिन्छ । तर, मतपत्रको छैठौं र सातौं कोलममा मत दिँदा तेर्सो वा ठाडो जता दिए पनि हुन्छ । एउटै लहरमा फरक–फरक दुई चिह्नमा मत दिन सकिन्छ । तर, मत जता दिए पनि दुइटा कोठामा मात्र दिनुपर्छ । त्योभन्दा बढी हुनु हुँदैन ।
अन्तिम लाइनमा एउटै कोठामा दुइटा चिह्न रहेछन्, त्यसमा के गर्ने ?
छैठौं र सातौं कोलम वडा सदस्य खुलातर्फका लागि हो । सातौं कोलममा एउटै कोठामा दुइटा चिह्न छ । त्यो दुइटा चिह्न एकै जना उम्मेदवारका लागि हो । वडा सदस्यमा एउटै पार्टीका दुई उम्मेदवार हुने भएकाले उम्मेदवारको चुनाव चिह्न पहिचान गर्न यस्तो व्यवस्था गरिएको हो ।
दुइटा चुनाव चिह्न भएको ठाउँमा एकपटक छाप हान्ने कि दुइपटक ?
दुइटा चिह्न भएको ठाउँमा एक पटक मात्र छाप हाने पुग्छ । कोठाभित्र दुइटा चिह्न देखेर दुइटा छाप हान्दा मत बदर हुन्छ ।
अरु कस्तो–कस्तो अवस्थामा मत बदर हुन्छ ?
पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा बदर हुन्छ । मत संकेत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा पनि मत बदर हुन्छ । स्वस्तिक छाप बाहेक औँठा वा छाप लगाएमा पनि मत बदर हुन्छ । त्यस्तै, दुइटा चुनाव चिह्न भएको कोठाको बीचमा एक अर्कालाई छुने गरी छाप लगाएमा पनि मत बदर हुन्छ । साथै, चिह्न भएको कोठाबाहिर छाप लगाएमा पनि मत बदर हुन्छ ।
गर्भवती, अशक्त, अपांगता भएका, जेष्ठ नागरिक आदिका लागि बेग्लाबेग्लै लाइन हुन्छ कि एकै लाइनमा बसेर भोट हाल्नुपर्छ ?
गर्भवती, सुत्केरी, अपांगता भएका, ज्येष्ठ नागरिक, अशक्त बिरामी, किरियामा बसेका मतदाताहरूले लाइन नबसी मतदान गर्न सक्ने छन् । मतदान केन्द्रमा पुरुष र महिला मतदाताको लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको हुन्छ । लाइनअनुसार मतदान गर्ने व्यक्तिको हातको नङमा चिनो लगाउने काम हुन्छ । त्यसपछि तथ्याङ्क फारम भरेर मतपत्र लिएर मतदान गर्न सकिन्छ ।
भोट हाल्न जाँदा मास्क र स्यानिटाइजर लगाउनुपर्छ कि पर्दैन ?
कोभिड–१९ संक्रमण अहिले पनि यथावत् छ । मतदान स्थलमा भिडभाड हुने भएकाले कोभिड संक्रमण हुनबाट बच्न मास्क र स्यानिटाइजर अनिवार्य रूपमा लगाउनुपर्छ ।
मतदाताले भोट हाल्नु अनिवार्य छ कि नहाल्दा पनि हुन्छ ?
मतदान आफूलाई मनपर्ने उम्मेदवार छान्न पाउने अधिकार हो । त्यसैले, मतदाताले सकेसम्म आफ्नो उक्त अधिकार प्रयोग गर्नुपर्छ । नेपालमा ‘भोट हाल्दिनँ’ भन्न पाउने अधिकार छैन । २०७० कात्तिक १० गते ‘राइट टु नो भोट’ को माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो । चुनावमा उठेका कुनै पनि उम्मेदवार मतदातालाई मन नपरेमा ‘कसैलाई पनि भोट हाल्दिनँ’ भनेर मत जाहेर गर्न पाउने व्यवस्था नै ‘राइट टु नो भोट’ हो ।
मतदानस्थलमा सुरक्षा व्यवस्था हुन्छ कि हुँदैन ?
सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन चार वटै सुरक्षा निकाय परिचालन गरेको हुन्छ । चार वटा सुरक्षा निकायमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान पर्छ । मतदान स्थलको शान्ति सुरक्षाका लागि प्रहरीसँगै म्यादी सुरक्षाकर्मी पनि खटाइएको हुन्छ ।
मतदान स्थलमा मोबाइल लैजान पाइन्छ कि पाइदैन ?
मतदान स्थलमा मोबाइल फोन लैजान निषेध गरिएको हुन्छ । त्यस्तै, मतदान स्थलमा कुनै पनि प्रकारका हातहतियार लैजान पाइदैन । घरेलु हतियारहरू जस्तैः चक्कु, खुकुरी तथा अन्य धारिला हतियार पनि मतदानस्थलमा निषेध गरिएको हुन्छ ।
निर्वाचनका दिन सवारी चल्छ कि चल्दैन ।
निर्वाचन आयोगले निर्वाचनका दिन सवारीसाधन बन्द गर्ने जानकारी दिएको छ । तर, मिडिया र उम्मेदवारले सवारी पास लिएर सवारी चलाउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, आयोगले अत्यावश्यक सामग्री बोकेको एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधन भने चल्न दिने जनाएको छ । साथै बैशाख ३० गते सरकारले सार्वजनिक विदा घोषणा गरेको छ ।
मतदानको समय कहिलेदेखि कहिलेसम्म हुन्छ ?
बैशाख ३० गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्मको समयलाई मतदानको समय तोकिएको छ । मतदाताले आफ्ना नाम रहेको मतदान केन्द्रमा पुगेर मतदानमा सहभागी हुन सक्छन् ।
नागरिक एपमा रहेको मतदाता परिचय पत्र देखाएर मतदान गर्न पाइन्छ ?
मतदाता परिचय पत्र हराएको खण्डमा मतदाताले नागरिक एपमा रहेको मतदाता परिचय पत्र देखाएर मतदान गर्न सक्छन् । यसका लागि पहिले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो जिल्ला, स्थानीय निकाय र मतदान केन्द्र छनोट गरी आफ्नो मतदाता परिचयपत्र नम्बर खोज्नुपर्छ । त्यसपछि नागरिक एप डाउनलोड गरी सोही मतदाता परिचयपत्र नम्बरको प्रयोग गरी नागरिक एप भेरिफाई गर्नुपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया