दल

'गठबन्धन दलहरुबीच मात्र भएकाे हाे, नागरिकबीच हैन'

कमल विष्ट |
बैशाख २५, २०७९ आइतबार १३:० बजे

काठमाडौं– कैलाली धनगढीका ५८ वर्षीय गोपाल हमाल पेसाले व्यवसायी हुन् । व्यापारी घरानामा जन्मिएका हमाल तीन जना दाजुभाइको संयुक्त लगानी रहेको ‘दिनेश ग्रुप’का सञ्चालकमध्येका एक हुन् । ‘दिनेश ग्रुप’ले एग्रोदेखि होटल, मिडियादेखि मोटर्स सबै प्रकारको व्यापार गर्छ । 

तर, पछिल्लो पाँच वर्षयता भने धनगढीमा उनको परिचय फेरिएको छ वा भनौँ बृहत् भएको छ । अब उनी धनगढीबासीमाझ व्यापारीसँगै एक सामाजिक अभियन्ताका रूपमा समेत चिनिन्छन् । 


धनगढी समृद्ध हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार हो र त्यसलाई हटाउन आफैँ राजनीतिमा होमिनुपर्छ भन्ने निष्कर्षका साथ उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा होमिए । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिए । 

स्वच्छ सामाजिक पहिचान भएका हमाललाई धनगढीले उत्साहजनक भोट दियो । ११ हजार ५ सय २७ मत पाए । तर, त्यो मत जितका लागि पर्याप्त भएन । नेपाली कांग्रेसका नृपबहादुर ओडसँग उनी २ हजार ७ सय ९७ मतले पराजित हुँदै दोस्रो धेरै मत ल्याउने उम्मेदवार बने । 

तर, दशकौंदेखि स्थापित दलहरूसँगको प्रतिस्पर्धामा आफूले प्राप्त गरेको भोटले उनलाई फेरि मेयरमा उठ्नुपर्छ भन्ने प्रेरणा दियो । यही वैशाख ३० गते हुने निर्वाचनमा उनले फेरि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

त्यसो त उनी यसबीचमा कुनै दलसँग आबद्ध नभएका होइनन् । गत निर्वाचनपछि उनी सुदूरपश्चिम संयोजक भूमिकासहित विवेकशील साझा पार्टी प्रवेश गरे । तर, उनी गत वर्ष पार्टी परित्याग गरे, स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने भन्दै । 

‘मेरो सम्पूर्ण शुभचिन्तक तथा समर्थकहरूले कुनै पार्टीमा आबद्ध भएर चुनाव नलड्नुस् भन्ने सुझाव दिनुभयो,’ घरदैलोमा व्यस्त हमालले इकाजसँगको कुराकानीमा भने, ‘मलाई पनि लाग्यो– पार्टीबाट चुनाव लडेपछि केही न केही कुरामा बाँधिनुपर्छ ।’

आफ्ना शुभचिन्तक तथा शुभेच्छुकको सल्लाहमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल यसपटकको निर्वाचनमा आफूले जित्नेमा एकदमै आशावादी छन् । तर, उनले आफ्ना मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका नृप ओडसँग यति नै मतले जित्छु भन्ने आँकलन गरेका छैनन् । 

उनी भन्छन्, ‘पानीभित्र यति नै माछा छन् भनेर भन्न सकिँदैन । राजनीतिमा जे पनि हुनसक्छ । तर, म केचाहिँ विश्वासका साथ भन्न सक्छु भने यसपालि मैले अघिल्लोको भन्दा धेरै साथ र समर्थन पाइरहेको छु । म यसपालि जित्छु भनेर ठूलो विश्वास छ ।’

उनले कोभिडको समयमा ‘महाप्रस्थान यान’को अभियान सुरु गर्दै निःशुल्क रूपमा शववाहन सेवा दिए । कोभिडका संक्रमितका लागि अक्सिजन कन्सन्ट्रेटहरू निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । 

कोभिडको समयमा स्थानीय सरकार पूर्ण रूपमा चुकेको उनको बुझाइ छ । भारतबाट स्वदेश फर्किन लागेका नागरिकलाई पनि देशभित्र ल्याउन नसकेको उनले बताए । ‘स्थानीय सरकारले पाँच वर्षको सम्पूर्ण समय आफ्नो स्वार्थपूिर्तकै लागि खर्चियो । कोभिडलगायतका समस्याको समयमा नागरिकका लागि स्थानीय सरकारले गर्नैपर्ने र गर्न सक्ने सामान्य काम पनि गरेन ।’ उनले गुनासो छ । 

उनी अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् । सकेसम्म घरदैलोमा पुगेर आफ्नो अजेन्डा राख्न उनलाई भ्याइनभ्याइ छ । तर, उनी यो आफ्नो रहर नभएर बाध्यता भएको बताउँछन् । ‘अहिलेसम्मका सबै मेयर तथा प्रशासकहरूले यस ठाउँका लागि केही गरेनन्, भ्रष्टाचारबाहेक । आँखै अगाडि सबै कुरा दिन प्रतिदिन बिग्रिरहेको देख्नै सकिनँ । राजनीति आफ्नो रहर नभए पनि म राजनीतिमा आएँ ।’ राजनीतिमा होमिनुको कारण अथ्र्याए उनले ।

मेयरमा निर्वाचित भएको खण्डमा घनगढीलाई समृद्ध बनाउन के छन् त उनका योजना ?

उनले आफ्नो पहिलो प्राथमिकतामा धनगढीको विकासलाई राखेका छन् । त्यसका लागि उनले सबैभन्दा पहिले भ्रष्टाचारलाई जरैदेखि उखेल्ने नीति लिनेछन् । उनको निचोड छ– भ्रष्टाचार विकासको बाधक हो । 

‘अहिले चलिरहेका स्थानीय सरकारले जनताभन्दा पार्टी, गुट र कार्यकर्तालाई प्राथमिकतामा राखेका छन् । तर, मैले जितेँ भने मेरो कुनै पार्टी, गुट, उपगुट, कार्यकर्ता हुने छैनन् । मेरा निम्ति राजनीति मानवीय धर्म हो, पेसा होइन ।’

चुनाव जितेपछि उनले सरकारी कोषबाट एक रुपैयाँ पनि नलिने संकल्प गरेका छन् । आफूले पाउने तलब, भत्ता, गाडी, इन्धनसमेतको सुविधा नलिएर त्यो रकम नागरिकको सेवामा खर्चिने वाचा गरेका छन् ।

‘राजनीतिले देशलाई मार्गनिर्देश गर्छ । तर, त्यो राजनीति नै भ्रष्ट भयो भने देशको अवस्था के हुन्छ ? समाज कुन अवस्थामा पुग्छ ? हाम्रो देशमा अहिले यस्तो अवस्था किन सिर्जना भएको छ ?’ हमालसँग प्रश्नैप्रश्न छन् । 

‘मैले यहाँ सुरुमा बाटो बनाउँछु, ठूलो सहर बनाउँछु नभनेर सबैभन्दा पहिले यहाँका हरेक तप्कामा व्याप्त भ्रष्टाचारको अन्त्य गर्छु किन भनेको हुँ भने भ्रष्टाचार विकासको बाधक हो ।’ उनले आफ्नो योजना सुनाए । 

आफूलाई सबै थोक दिएको धनगढीका लागि केही दिन नसकेकामा उनलाई दुःख लाग्छ । ‘धनगढीले मलाई सबै थोक दियो, तर मैले अहिलेसम्म केही दिन सकेको छु जस्तो लाग्दैन । अब दिने पालो मेरो,’ उनी भावुक सुनिए । 

उनले आगामी निर्वाचनमा आँप चुनाव चिह्न पाएका छन् । आँपको मौसम आइरहेका बेला आफूले आँप चुनाव चिह्न पाएकामा उनी गद्गद् छन् । उनी मुस्कुराउँदै भन्छन्– अब सिजनै आँपको छ । 

उनले अहिलेको पाँच दलीय गठबन्धनलाई नागरिकहरूले नस्वीकार्ने बताएका छन् । आफ्नो व्यक्तिगत अभीष्ट पूरा गर्न केही दलहरू मिलेर गरेको यो गठबन्धनको कुनै औचित्य नभएको उनी मान्छन् । 

‘गठबन्धन दलहरूबीच मात्र भएको हो, नागरिकबीच भएको होइन ।’ उनले दाबी छ ।  
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x