इमान हराएकाहरुलाई भोट नदिनुस् : अध्यक्ष लिङ्देन
फाइल फोटो
भक्तपुर - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इमान हराएका, नैतिक हराएका मान्छेलाई मेरो पार्टी हो भनेर भोट नहाल्न मतदातालाई आग्रह गरेका छन् । राप्रपा भक्तपुरले चाँगुनारायणमा आज आयोजना गरेको चुनावी सभामा उनले देशको विकास गर्नसक्ने, आफ्नो गाउँको विकास गर्नसक्ने नेता र दललाई रोजेर भोट हाल्न मतदातालाई आग्रह गरे ।
उनले भने, `अस्ति देखापढी गरेर हामीलाई एकचोटि भोट दिनुस्, अर्कोचोटि तपाईंलाई दिन्छौँ भनेर भोट लिएर सांसद, मन्त्री हुने र जनतालाई धोका दिएर केही नगर्ने इमान नभएका व्यक्ति हुन्, त्यस्तालाई भोट नदिनुस्, जनताको साथमा हुने नेतालाई मात्रै भोट दिनुहोस् ।`
उनले चाँगुनारायणको विकासमा स्थानीय सरकारको ध्यान नपुगेको टिप्पणी गर्दै काठमाडौँ उपत्यकाभित्र भएर राजधानीसँग जोडिएर भक्तपुर जिल्लाको विकासको हालत देख्दा विरक्त लागेर आएको बताए ।
जनताले यहाँ बाटो चाहियो, यस्तो चाहियो, उस्तो चाहियो भनेर गुनासो गर्ने ठाउँ राप्रपाले नदिने भन्दै उनले राप्रपाले कसरी विकास गर्छ भनेर नमूना हेर्न नेपालगञ्ज उपमहानगरपालिका नै काफी भएको जिकिर गरे । राप्रपा एक मात्रै वैकल्पिक शक्ति भएकाले अब एक पटक राप्रपालाई हेर्न आग्रह गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, `भोट त एक पटक राप्रपालाई नै दिन मन थियो, तर आफू अर्कै पार्टीको परियो भनेर धक नमान्नुस्, आफ्नै पार्टीको झण्डा समाउनुस् तर भोट एक पटक हामीलाई दिनुस् ।`
कार्यक्रममा राप्रपाबाट चाँगुनारायण नगरपालिकाका प्रमुखका उम्मेदवार रवीन्द्रप्रताप शाहले आफू विजयी भएमा शिक्षा, स्वास्थ्य सेवा निःशुल्क, युवायुवतीका लागि रोजगार, किसानलाई पेन्सनको व्यवस्था गर्ने, बाटो, खानेपानी र जनताको आधारभूत आवश्यकता पूरा गर्ने र भेदभावरहित समाजको निर्माण गर्ने बताए । राप्रपाले भक्तपुरमा चार वटै नगरपालिकामा आफ्नो उम्मेदवारी दिएको छ ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया