दल

कर्ण मल्लको दाबी- देउवाले मतदाता किन्न ०२७८–५६३९ नम्बरको गाडीमा करोडौं पैसा ल्याए

'मलाई कतैबाट सूचना आयो, त्यहीअनुसार भनेको हुँ'

इकागज |
बैशाख २७, २०७९ मंगलबार १२:५० बजे

फाइल तस्‍बिर

काठमाडौँ -  नेपाली कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका कर्णबहादुर मल्लले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ ल्याइएको दाबी गरेका छन् । सोमबार राति डडेल्धुरामा आयोजित चुनावी सभामा बोल्दै कांग्रेसका दुई कार्यकाल जिल्ला सभापति भइसकेका मल्लले मतदातालाई प्रभावित गर्न धनगढीबाट करोडौँ रुपैयाँ आएको दाबी गरेका हुन् । 

'यहाँका मतदातालाई पैसामा किन्नको लागि आज(सोमबार)मात्र धनगढीबाट बागमती प्रदेशको ०२७८–५६३९ नम्बरको गाडीमा करोडौं रुपैयाँ आएको छ,' उनले भनेका छन्, 'म चुनौतीका साथ भन्न चाहन्छु । शेरबहादुर देउवाजीले रुखका उम्मेदवारलाई मतदान गर्नका लागि करोडौं पैसा लिएर आउनुभएको छ । त्यो पैसा विद्युत–सडकका कुनै कर्मचारीको घरमा राखिएको छ ।'


उनले अब हरेक जनताले प्रश्न गर्नुपर्ने उनको भनाइ छ । 'अब हरेक जनताले प्रश्न गर्नुहोला र रुखका उम्मेदवार साथीले पनि गएर यहाँ मेरो हिस्सामा आएको पैसा कति पर्छ भनेर,' उनले भने, 'हिस्सा लिनुस् । सच्चा प्रजातन्त्रवादीहरूले चोक–चोकमा सार्वजनिक गर्नुस् । सच्चा कांग्रेस हो भने चोक–चोकमा सार्वजनिक गर्नुस् ।' 

धनगढीबाट पैसा आएको सूचना पाएपछि आफूले सार्वजनिक गरेको उनले बताए । आफूलाई आएको सूचना पक्का भएको उनले इकागजलाई बताए । 'मलाई कतैबाट सूचना आयो, त्यहीअनुसार मैले भनेको हो,' इकागजसँग उनले भने, 'सूचना एकदम पक्का हो ।'

नेपाली कांग्रेसबाट निष्कासित मल्लले कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका छन् । कांग्रेस महाधिवेशनबाट सभापति शेरबहादुर देउवासँग असन्तुष्ट उनले यसअघि समानान्तर गतिविध गर्दै आएका थिए ।  कांग्रेस सभापति शेरबहादुर देउवा सोमबारदेखि डडेल्धुरामै छन् ।


Author

थप समाचार
x