दल

गठनबन्धन सफल भएको नेता पुनको जिकिर

इकागज |
बैशाख २७, २०७९ मंगलबार १५:२६ बजे

फाइल फोटो

रोल्पा - नेकपा (माओवादी) केन्द्रका नेता वर्षमान पुनले देशभरको स्थानीय तहको अवस्था अनुसार समग्रमा गठबन्धन सफल भएको जिकिर गरेका छन् । 

रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका उनले देशका सबै महानगर र उपमहानगरसहित ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएकाले यो गठबन्धन सफल भएको मान्नुपर्छ भने । 


कतिपय ठाउँमा सरकारमा रहेका सबै दल संलग्न रहने गरी गठबन्धन भएको छ भने कतिपय ठाउँमा चार दल, तीन दल वा दुई दलबीच समेत गठबन्धन भएको देखिन्छ । यी सबै जोड्दा ६० प्रतिशत गठबन्धन भएको रिपोर्ट आएको नेता पुनले बताए । 

विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादीबीच १०६ स्थानीय तहमा मात्रै तालमेल भएको स्मरण गराउँदै उनले यस पटकको तालमेललाई सफल मान्नुपर्ने तर निर्वाचनमा शतप्रतिशत तालमेल हुन्छ भन्नु मनोगत मात्रै हुन्छ भने । 

तालमेल सफल भए नेपाली कांग्रेसले देशका ३०० बढी स्थानीय तहको प्रमुखमा जित्ने र  दोस्रो स्थान नेकपा माओवादी केन्द्रले लिने गरी रिपोर्ट आएको उनको भनाइ थियो । 

स्थानीय तहको निर्वाचनका लागि गृह जिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेता पुन रोल्पामा आएका हुन् ।  
 


Author

थप समाचार
x