दल

जनताको सेवा समर्पित गर्ने उम्मेरवारलाई जिताउनुहोस् : नेत्री भुसाल

इकागज |
बैशाख २७, २०७९ मंगलबार १९:१२ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सेवामा समर्पित हुने उम्मेदवारलाई स्थानीय निर्वाचनमा विजयी गराउन अपिल गरेकी छिन् ।  

उनले परिवर्तनको मुद्दा शिरोधार्य गरेर जनताका आवश्यकतालाई सही तवरले बुझ्ने पार्टी माओवादी केन्द्रका उम्मेदवार जताउन र गठबन्धनको पक्षमा दरिलो भएर उभिन आम जनसमुदायलाई आग्रह गरिन् । 


माओवादीले काठमाडौँको पूर्वी नगर शङ्खरापुरमा आज आयोजना गरेको ‘बृहत् चुनावी सभा’लाई सम्बोधन गर्दै नेत्री भुसालले भनिन्, `जनतालाई सीप उपलब्ध गराउने र सोहीअनुसारको व्यवसाय तय गरेर आर्थिक सामाजिक उन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई मत प्रदान गर्न आग्रह गर्दछु ।` 

उनले शिक्षा र स्वास्थ्यले समाजको वर्गीय धरातल झनै फराकिलो बनाउँदै लगेको भन्दै स्थानीय तहले सो क्षेत्रको गुणस्तर सुधारेर आफ्ना जनतालाई सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन् । 

मन्त्री भुसालले भनिन्, `सबैले सबैसँग प्रतिस्पर्धा गर्ने शिक्षा प्रणालीको विकास गर्नुपर्छ, अनिमात्र सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न सक्छौँ । संविधानले निर्दिष्ट गरेको समाजवादको बाटोमा जान सक्छौँ । सोही जिम्मेवारीलाई उम्मेदवारले गहनरूपमा लिनुपर्छ ।` 

जनताको इच्छा र आकाङ्क्षामा एकाकार भएर आफ्नो पार्टी अगाडि बढ्ने विश्वास दिलाउँदै उहाँले माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जिते कृषि र पर्यटनलाई विशेष प्राथमिकतामा नगरको विकास गर्ने र एतिहासिक शङ्खरापुरलाई ‘हेरिटेज सिटी’का रुपमा विकास गरिने बताइन् ।  रासस
 


Author

थप समाचार
x