गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त छु: दाहाल
काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन् । शुक्रवार स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका हुन् ।
उनले सबैले मतदाताले स्वतन्त्रतापूर्वक मत हाल्न पाउनुपर्ने बताए । अध्यक्ष दाहालले जितमा अनावश्यक हौसिने र पराजितमा पूरै निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन नसक्ने बताए । अध्यक्ष दाहालले भने, ‘पहिलो कुरा यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुपर्दछ । संविधान घोषणापछिको दोस्रो निर्वाचन हो । यो सफल हुनुपर्दछ । सबैले स्वतन्त्रतापूर्वक र आत्मविश्वासको साथ यसमा सहभागी हुनुपर्दछ । मैले आफैँ हुर्केबढेको ठाउँको बुथमा आएर मतदान गर्दा मलाई खुशी लागेको छ । जित्ने र हार्ने कुरा निर्वाचनमा स्वभाविक मान्नुपर्छ । जित हारकै लागि निर्वाचन हुने हो । जितमा अनावश्यक हौसिने र पराजितमा पूरै निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन सक्दैन । हामीले विशिष्ट ऐतिहासिक परिस्थितिमा गठबन्धन गरेका छौँ, राष्ट्र निकै अफ्ठ्यारो भएको बेलामा गठबन्धन बनेको हो । यो गठबन्धन जनता र देशका बुद्धिजीविहरुले यसको महत्व बुझेका छन् । गठबन्धनको विजयी हुन्छ । मैले धम्की दिएको होइन, जिम्मेवारीका साथ अपिल गरेको छु । काठमाडौंका मुख्य मिडियाबाट तोडमोड गरियो । मैले त्यस्तो भनेको होइन ।’अध्यक्ष दाहालले चितवनमा आफ्ना मतदातालाई धम्की दिन नसक्ने भन्दै रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जान्छ भन्ने कुरा झुटो भएको दाबी गरे । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया