जीवन चक्र

लियोनार्दो डी क्याप्रियोसँग राजनका तीन दिन

बाघ हेर्न बर्दिया पुगेका लियो बाघै हेर्न नपाई फर्केका थिए

लिलाराज खतिवडा |
मंसिर २६, २०७७ ११:२४ बजे

उनलाई लियोनार्दो डी क्याप्रियोबारे त्यतिबेलासम्म खासै थाहा थिएन । हलिउडका यी महाहिरोका कुनै पनि फिल्म उनले हेर्न भ्याएका थिएनन् । तर अचानक सन् २०१० मा उनले बर्दिया राष्ट्रिय निकुञ्जमा लियोनार्दोसँग एक गाइडका हैसियतले तीन दिन बिताउने मौका पाए । उनी हुन्- रामजान चौधरी । ठाकुरद्वारा बर्दियाका एक जिनियस पथप्रदर्शक । चरा विशेषज्ञ र नेचुरलिस्ट । कैँयन हाई प्रोफाइल विदेशी पर्यटकहरू उनलाई राजन नामले चिन्ने गर्छन् ।

‘म हलिउडका फिल्म खासै नहेर्ने मान्छे । तर लियोनार्दोसँग तीन दिन बिताएपछि साथीहरूको दबाबमा एकदिन टाइटानिक हेरेँ,’ झरीले निथ्रुक्कै भिजाएको बर्दिया राष्ट्रिय निकुञ्जको जंगल किनारमा एक दिन राजनले यस लेखकलाई सुनाए, ‘तर फिल्म हेर्ने धैर्य मसँग नभएका कारण टाइटानिक हेरिसक्न मलाई कैँयन् घण्टा लाग्यो । ल्यापटपमा फिल्म पज गरेर म बीचबीचमा पानी पिउँथेँ । यताउता घुम्थेँ । अनि फेरि टाइटानिकमा घोत्लिन्थेँ । बल्लबल्ल मैले त्यो फिल्म हेरिसकेँ ।’

४२ वर्षीय राजनलाई सानैदेखि वन्यजन्तु र प्रकृतिसँग अगाध प्रेम थियो । उनले निकुञ्जमा आयोजित पथप्रदर्शक तालिममा भाग लिने मौका पाए । त्यसपछि अविछिन्न रूपमा उनी यस क्षेत्रमा अहोरात्र काम गरिरहेका छन् । कहाँसम्म भने, उनका जेठा दाजुलाई त्यसैताका निकुञ्जको एउटा आदमखोर बाघले खाइदियो । अनि उनी भने लगातार बाघलगायत अन्य जीवजन्तु तथा प्रकृति संरक्षण अभियानमा लगातार लागिपरेका छन् ।

उनी भन्छन्, ‘मेरा दाजुलाई बाघले खानुमा बाघको कुनै गल्ती छैन । सिकार गरिरहेका बेला, सम्भोग गरिरहेका बेला र बच्चालाई दूध खुवाइरहेका बेला कोही उसको छेउमा पुग्दा बाघ रिसाउँछ । नत्र औसत रूपमा बाघ खतरनाक जनावर होइन । बाघका सबै चेतना अति नै उत्तम भएका कारण उसले मान्छेलाई प्रायः आक्रमण गर्दैन । डिफेन्स मात्रै गर्ने गर्छ । पूर्णिमाको रातमा ऊ निकै लजालु हुन्छ । एकदमै गुप्त रहन मन पराउने बाघलाई हत्तपत्ती देख्न पनि सकिँदैन । तर कारणवश एकपटक मान्छेको रगत चाखिसकेको बाघले भने मान्छेलाई ठाडै आक्रमण गर्छ । यस्तो बाघलाई आदमखोर भन्‍ने गरिन्छ ।’

कैँयन् नामी विदेशी संघसंस्थाहरू मसँग सहकार्य गर्न आउँछन् । तर नेपालमा पर्यटन विषयक कुनै पनि कार्यक्रम हुँदा मलाई निम्तो आउँदैन ।

तर जंगलको त्यस इलाकामा आदमखोर बाघ छ भन्‍ने थाहा हुँदाहुँदै पनि राजनका दाजु अन्य चार जना गाउँलेसँग डाँडाभाँटा लिन जंगल घुसेका थिए । यो उनीहरूको आफ्नै लापर्बाही पनि थियो । त्यो बाघले राजनका दाजुभन्दा पहिले अन्य दुईजना स्थानीयलाई मारिसकेको पनि थियो । पछि आदेशअनुसार आर्मीले घेरा हालेर उक्त बाघलाई गोली ठोकेर मारेको थियो ।

विश्व वन्यजन्तु कोष अर्थात् डब्लूडब्लूएफले ओस्कार विजेता लियोनार्दोलाई सन् २०१० मा बाघ संरक्षण अभियानको दूत बनाएको हो । त्यसै सिलसिलामा उनी मासिँदै गइरहेको पाटे बाघको अध्ययन गर्न बर्दिया आएका थिए । बर्दिया घुमेर फर्किएपछि उनले लियोनार्दो टाइगर फाउन्डेसन पनि खोले ।

राजन स्मरण गर्छन्, ‘हलिउडको त्यत्रो भयंकर हस्ती भएर पनि लियोनार्दोलाई मैले एकदमै साधारण, मिलनसार र डाउन टु अर्थ पाएँ । हुन त एक गाइडका लागि सबै पर्यटक समान हुन् । मैले उनलाई अरू पाहुना सरह नै व्यवहार गरेँ । त्यसो त दुईवटा हेलिकप्टर लिएर बडो तामझामसाथ उनले बर्दियामा पाइला राखेका थिए । उनी जता गए पनि सुरक्षा र क्यामेराले पछ्याउँथ्यो । तर २४ घण्टापछि लियोनार्दोले आफ्नो वरिपरिको उच्च सुरक्षालाई नकारे ।’

लियोनार्दोले जब राजनका ठूल्दाइलाई बाघले मारेको कुरा थाहा पाए, उनी निकै भावुक हुन पुगे । उनले राजनलाई भने, ‘तिम्रो दाजुलाई बाघले खाए पनि तिमी बाघलगायत अन्य जीवजन्तुको संरक्षणमा लागेका रहेछौ । अचम्म लाग्यो । तिमीसँग म प्रभावित भएँ ।’

राजनले प्रफुल्ल मुद्रामा सुनाए, ‘लियोनार्दो फर्किएको केही समयपछि उनका अमेरिकी फ्यानहरूलाई निकुञ्जमा गाइड गरिरहँदा उनीहरूले बडो उत्साहित भएर मलाई भने, हामीले प्रत्यक्ष देख्नसमेत नपाएका हाम्रा महान् नायकलाई तिमीले गाइड गर्ने मौका पायौ । तिमीलाई भेटेर हामी दंग परेका छौं ।’ अझै पनि उनको लियोनार्दोसँग इमेलवार्ता हुने गर्छ । लियोले केहीअघि उनलाई इमेल लेखेका थिए, ‘म फेरि नेपाल आउँछु । तिमीलाई अवश्य भेट्नेछु ।’ 

हेर्नुहोस् तस्बिर


सुन्दै जाँदा प्रकृति 
संरक्षण र पथप्रदर्शनमा राजनको संलग्नता र योगदानको सूची निकै वजनदार र लामो लाग्दै गयो । कैँयन् नेपालीहरूले उनको नाम नसुने पनि उनलाई नेसनल जोग्राफिक च्यानल, एनिमल प्लानेट, डिस्कभरी च्यानल र ट्राभल च्यानलले ‘लेबल वान’ नेचुरलिस्ट र गाइड भनेर सम्मान गरिसकेका छन् ।

हलिउडको त्यत्रो भयंकर हस्ती भएर पनि लियोनार्दोलाई मैले एकदमै साधारण, मिलनसार र डाउन टु अर्थ पाएँ ।

राजनले प्रत्यक्षरूपमा डब्लूडब्लूएफ र फ्रान्सेली दूतावाससाथै बेलायतद्वारा लगानी गरिएको लिभिङ विथ टाइगरजस्ता संस्थाहरूसँग पटकपटक काम गरिसकेका छन् । उनी भन्छन्, ‘कैँयन् नामी विदेशी संघसंस्थाहरू मसँग सहकार्य गर्न आउँछन् । तर नेपालमा पर्यटन विषयक कुनै पनि कार्यक्रमहरू हुँदा मलाई निम्तो आउँदैन । आफ्नो देशको हालत यस्तो छ । मेरो दक्षताको पहिचान प्रायःजसो केवल विदेशीहरूमाझ छ भन्दा गलत हुँदैन ।’

राजन अहिले प्रकृतिसँग जे गरिरहेका छन्, उनकै भाषामा यो उनको सानैदेखिको प्यासन हो । उनी अध्ययनशील छन् । राम्रो अंग्रेजी बोल्छन् । फुर्सदमा उनी विभिन्न चरा, पुतली, वनस्पतिलगायत वन्यजन्तुहरूबारे पढेर बस्छन् । अंग्रेजी भाषाका नयाँनयाँ आयामहरू खोतलेर अभ्यास गर्ने गर्छन् ।

राजनले संसारको सबैभन्दा स्यानो जंगली बिरालो, ‘रस्टी स्पटेड वाइल्ड क्याट’ बर्दियामा पत्ता लगाए । एक रात उनी पर्यटक घुमाएर फर्किंदै थिए । गाडीको हेडलाइटका कारण त्यो सानो बिरालो टक्क अडियो । राजनले फोटो पनि खिचिहाले । अनि उनले त्यो फोटो फेसबुकमा अपलोड गरे । सुरुमा उनलाई यस स्यानो बिरालोबारे खासै जानकारी थिएन । तर राष्ट्रिय प्रकृति संरक्षण कोषका रबिन कडरियाले उक्त बिरालोको पहिचान गरेर राजनलाई नेपालमा सर्वप्रथम विश्वकै स्यानो जंगली बिरालो नेपालमा फेला पारेकामा फोन गरेर बधाई दिए । त्यसपछि बेलायतबाट ‘वल्र्ड स्मल वाइल्ड क्याट फाउन्डेसन’को टोली बर्दिया आयो र राजनको अन्तर्वार्ता लियो । राजन भन्छन्, ‘बर्दियाको जंगलमा दुईपटक त्यो जातको बिरालोसँग मेरो जम्काभेट भएको छ ।’

त्यसो त राजन उत्तिकै समाजसेवा पनि गरिरहेका हुन्छन् । नेपाल पन्छी संरक्षण संघ तथा अन्य सरोकारवाला संस्थाहरूको आर्थिक सहयोगमा बर्दिया प्रकृति संरक्षण क्लब खोलिएको छ । यसमार्फत उनी अन्य अभियन्ता र विशेषज्ञहरूसँग मिलेर समुदायका हरेक वर्गका बासिन्दासँग पन्छी र जैविक विविधता संरक्षणको अभियानमा आबध्द भएर तालिम तथा छलफल कार्यक्रम पनि गर्छन् । उनी नियमित रूपमा स्थानीय विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई अंग्रेजी भाषा अभिवृध्दि तालिम कार्यक्रमको आयोजना पनि गरिरहन्छन् । उनी विदेशी स्वयंसेवकहरूलाई आमन्त्रण गरेर स्थानीय विद्यालयमा अनेक क्रियाकलाप पनि गर्ने-गराउने गर्छन् ।

उनी वन्यजन्तुबारे थेसिस लेख्न बर्दिया पुगेका विद्यार्थीलाई पनि गाइड गर्छन् । १९ वर्षको उमेरमा सन् १९९७ मा सर्वप्रथम गाइड तालिम लिँदा उनको सबैभन्दा उत्कृष्ट नतिजा आएको थियो । अहिले उनलाई चिन्ने युवाहरू उनीसँग केही न केही सिकिरहेका नै हुन्छन् । उनी भन्छन्, ‘मलाई अझै धेरै गर्नु छ । बाटामा बसेर क्यारामबोर्ड र तास खेलिरहेका युवाहरूका लागि म केही सिर्जनात्मक काम गर्न चाहन्छु ।’

राजनले पिटर बर्नलाई पनि गाइड गर्ने मौका पाएका थिए । पिटर हिरोसिमामा बम खसाल्ने ९० जना अमेरिकी आर्मीहरूमध्येका एक कर्नेल थिए । पिटर राजा महेन्द्रको पालामा लामै समय नेपाल बसेका थिए । सुरुमा उनी बाघको सिकार खेल्थे । उनले नेपालमा निकै बाघ पनि मारे । तर पछि उनी परिवर्तन भए र प्रकृति संरक्षणमा लागे । उनले आफ्नो निवृत्त जीवन लगभग नेपालमा नै बिताए । धेरैजसो उनी शुक्लाफाँटा निकुञ्जमा बसे । शुक्लाफाँटाको नामकरण पनि पिटरले नै गरेका थिए ।

लियोनार्दो फर्किएको केही समयपछि उनका अमेरिकी फ्यानले भने, हामीले प्रत्यक्ष देख्नसमेत नपाएका हाम्रा महान् नायकलाई तिमीले गाइड गर्ने मौका पायौ ।

पिटरसँग राजनको भेट सन् २००९ मा बर्दियामा भएको थियो । राजनले उनलाई निकै पटक गाइड गरेका छन् । पछि पिटरले मेक्सिकोबाट एउटा रोयल फेमिलीलाई पनि बर्दिया घुमाउन ल्याएका थिए । राजनले उक्त रोयल फेमिलीलाई समेत गाइड गरे । राजन स्मरण गर्छन्, ‘उक्त रोयल फेमिलीले मलाई बेस्ट गाइडको उपाधिसमेत प्रदान गरेको थियो ।’

केही वर्षअघि पिटरको देहान्त भइसकेको छ । दोस्रो विश्वयुध्दमा जापानमा एटम बम खसाल्ने दर्दनाक इतिहास बोकेका पिटर बुर्नको पटक पटकको लामो नेपाल बसाइ भने एउटा छुट्टै खोजको विषय हो । सामान्य परिवारमा जन्मिएका राजनको जीवन अनेक एडभेन्चरले भरिएको छ । उनले विश्वका अनेक हाइप्रोफाइल नेचुरलिस्टहरूसँग काम र सहकार्य गर्ने मौका पाएका छन् । विगत केही वर्षदेखि उनले ठाकुरद्वारामा आफ्नै ‘द डेन एडभेन्चर्स’ नामक ट्राभल एजेन्सी चलाइरहेका छन् ।

कोभिडका कारण हुन नसकेको ‘नेपाल भ्रमण वर्ष २०२०’का सद्भावना दूत हलिउडकी चिनियाँ नायिका सु किङलाई पनि उनले पथ-प्रदर्शन गर्ने मौका पाए । त्यो मौका उनका लागि मात्रै नभएर सिंगो नेपालकै लागि महत्वपूर्ण छ । निकट भविष्यमा नेसनल जोग्राफिक, बीबीसी र एनिमल प्लानेटजस्ता विश्वका ख्यातिप्राप्त सञ्चार गृहहरूसँगको समन्वयमा वन्यजन्तु विषयक वृत्तचित्र बनाएर पर्यटन प्रवध्र्दन तथा प्रकृति संरक्षणमा केही गर्ने योजना पनि छ ।

एसियन वाइल्डलाइफ फोटोग्राफी क्लबद्वारा पर्यटन प्रवध्र्दन तथा प्रकृति संरक्षणका लागि विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनका लागि पनि उनलाई निमन्त्रणा आइसकेको छ । संरचनात्मक तथा सचेतनामूलक अभियानमा तल्लीन हुन मन पराउँछन् नेपालकै विशेष बाघभूमिका ज्यूँदा बाघ राजन चौधरी । यसका अलावा प्रकृति संरक्षण तथा सचेतनामूलक कविता तथा विविध लेखरचना सिर्जना गर्न पनि उनलाई उत्तिकै मन पर्छ ।

दुई वर्षअघि, बीबीसीको ‘एज अफ द बिग क्याट्स’ भन्‍ने डकुमेन्ट्रीको सुटिङमा पनि राजनले काम गर्ने मौका पाए । सुटिङ प्रायः राति हुने गर्थ्यो । यो मार्च महिनाको समय थियो, जतिबेला प्रायः जनावरहरूको प्रजनन काल हुने गर्दछ । राजन सम्झिन्छन्, ‘हामी क्यामेरा तयार गरिरहेका थियौं । सुटिङ गु्रपले एउटा बाघलाई पछ्याइरहेको थियो । जंगलभित्रको खुल्ला चौरमा बाघ आफ्नै सुरमा हिँडिरहेको थियो ।

त्यसअघि पनि हामीले उक्त बाघलाई त्यहाँ देखेका थियौं । तर उसले हामीलाई देखेको थिएन । तर यस पटक अचानक बाघले हामीलाई देख्न पुग्यो । अनि उसले एकातिर बुर्कुसी मार्यो । र, बाक्लो जंगलमा अलप भयो । तर त्यसपछि त्यो बाघ त्यहाँ देखा परेन । कसै गर्दा पनि देखा परेन । मैले के भन्न खोजेको हुँ भने, बाघलाई यदि कुनै स्थानमा केही असजिलो वा अप्ठ्यारो भयो भने ऊ कहिल्यै त्यहाँ फर्किएर आउँदैन । यो बाघको स्वभाव नै हो ।’

‘के तपाईंलाई आजकाल पनि क्याप्रियोको इमेल वा फोन आउँछ ?’ मैले सोधेँ । राजनले सुनाए, ‘पछिल्लो केही समय उहाँको सञ्जालसँग मेरो सम्पर्क भएको छैन । तर छिट्टै नै उहाँको सचिवालयलाई हालको वास्तविकतालाई समेटेर सम्पर्क गर्नेछु ।’

कोभिडका कारण हुन नसकेको ‘नेपाल भ्रमण वर्ष २०२०’की सद्‍भावनावना दूत हलिउडकी चिनियाँ नायिका सु किङलाई पनि उनले पथ-प्रदर्शन गर्ने मौका पाए ।

लियोनार्दोजस्ता हलिउडका सुपरस्टारहरूको भ्रमण गोप्य नै रहन्छ । तर जहाँसम्म उनको नेपाल भ्रमणको कुरा बाघ संरक्षणसँग सम्बन्धित छ र यो अभियान सन् २०२२ सम्म रहेकाले सम्भावना पनि छँदै छ । लियोसितको अविस्मरणीय क्षण के छ त ? उनी भन्छन्, ‘उहाँसँग प्रत्यक्ष भेटेर बाघ तथा प्रकृति संरक्षणजस्तो नितान्त आवश्यक र अति महत्वपूर्ण अभियानको अनुभव साट्न पाउनु मेरो अहोभाग्य नै हो । उहाँ आएको दोस्रो दिन बर्दिया निकुञ्जभित्रको ‘अपर भेलर ट्री’ भन्‍ने ठाउँको झाडीमा लुकेर बाघ पानीमा आउने सम्भावना देखेपछि हामी उहाँलाई आँप काटेर खुवाउँदै थियौँ ।

उहाँलगायत हामी पनि बाघ आउने व्यग्र प्रतीक्षामा थियौँ । निकै समय बितिसकेको थियो । ठीक त्यसै बेला उहाँलाई गोही विषयक एक अर्को कार्यक्रममा जानुपर्ने फोन आयो । उहाँ बाहिरिनुभएको केही बेरमा त्यहाँ बाघ पानी खान आए । तर बाघ नै हेर्न तथा अध्ययन गर्न भनी नेपाल आएका हलिउडका महान् हस्ती तथा प्रथम बाघ संरक्षण अभियान सन् २०१०-२२ का विश्वदूत लिओनार्दो डी क्याप्रिओले राम्रोसँग बाघको दृश्यावलोकन नै नगरी फर्किनु पर्यो । जुन कुरा मेरा लागि भने एक अविस्मरणीय पल हुन पुग्यो । आशा गरौँ, उहाँलाई अर्को पटक बर्दिया निकुञ्जमा आउँदा नेपालको सान पाटेबाघ अवलोकन गर्ने मौका अवश्य जुर्नेछ ।’



Author

थप समाचार