अस्ताए पोखराबाट उदाएका ‘सूर्य’
काठमाडौं : अहिलेको युवा पुस्ताले बाल्यकालमा एउटा लोकप्रिय विज्ञापन सुनेको हुनुपर्छ– ‘आर ए आर ए– रारा, मीठो भन्छन् सारा’ । सारा नेपालीलाई यही मीठो स्वादको रारा चाउचाउ चखाउने व्यक्ति हुन्, पोखरेली उद्यमी– सूर्यबहादुर केसी ।
उनै केसीको सोमबार राती ६३ वर्षको उमेरमा निधन भयो । संघीय प्रतिनिधि सभाका सदस्य समेत रहेका केसी एक सच्चा उद्यमी थिए । पिता किर्तिबहादुर केसीले सुरु गरेको निर्माण व्यवसायबाट व्यवसाय विविधिकरण गरेर उनले उत्पादन उद्योग, जलविद्युत्, शिक्षा, बैंकिङ, बीमा जस्ता थ्रुपै ‘विजनेस भर्टिकल्स’हरु स्थापित गरे ।
पिताले स्थापना गरेको ‘केसी कन्स्ट्रक्सन’ लाई एउटा प्रतिष्ठीत औद्योगिक घराना ‘केसी ग्रुप’ का रुपमा विस्तार गर्ने श्रेय उनैलाई जान्छ ।
रोजगारीका सिलसिलामा भारतमा रहेका उनका पिता किर्तिबहादुर केसीले नेपाल फर्केर निर्माण कम्पनी खोलेपछि सरकारी ठेक्काहरु पनि लिन थालेका थिए । स्याङ्जा–पोखरा सडक केसी कन्स्ट्रक्सनले निर्माण गरेको थियो । उक्त कन्स्ट्रक्सन कम्पनी समयक्रममा गुणात्मक विकास हुँदै गयो र अहिले जलविद्युत्, बाँध र सिंचाइ लगायत अन्य व्यवसायिक निर्माणका ठूला–ठूला निर्माण कार्यहरु समेत गरिरहेको छ ।
भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय पनि केसी कन्स्ट्रक्सनले निर्माण गरेको हो । त्यसो त केसी ग्रुपको मातहतमा केही जलविद्युत् आयोजनाहरु प्नि निर्माण भएका छन्– ४.८ मेगावाटको गण्डकी जलविद्युत्, १ मेगावाटको टास्क जलविद्युत्, ४.५ मेगावाटको भगवती र १३ मेगावाटको सिक्लेस जलविद्युत् आयोजना सूर्यबहादुर केसीको अगुवाइमा निर्माण भएका हुन् । केसीले थ्रुपै ‘विजनेस भर्टिकल्स’हरु मार्फत् एक हजार भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
सूर्यबहादुर केसीलाई निर्माण उद्योगले नै चाउचाउ उद्योग खोल्नेसम्मको ‘मुड’ मा पु-याएको हो । पोखराका लाहुरेहरुले तिनताका हङकङ, सिगापुर र मलेसियाबाट चाउचाउ कोसेली ल्याउँथे । पछि पोखरामा एक जना लाहुरेको परिवारले खोलेको पसलमा आयातीत चाउचाउ किन्ने सुविधा पनि थियो । झण्डै साढे चार दशकअघि केसीको निर्माण व्यवसाय फैंलदैं थियो ।
निर्माणको कामको दौडधूपमा उनलाई फास्टफुडको रुपमा चाउचाउको लत बस्यो । पोखरामा लाहुरेहरुले खोलेको पसलमा पनि चाउचाउको बिक्री राम्रै देखेपछि सूर्यबहादुर केसीले केही साथीहरुसँग मिलेर सिन्के चाउचाउ उत्पादन गर्ने उद्योग खोलेका थिए– गण्डकी नुडल्स । त्यो व्यवसाय त्यति नफस्टाएको मात्र होइन, घाटा नै व्यहोर्नुपरेपछि २०४० को दशकको शुरुवाततिर उनले रारा चाउचाउको उत्पादन शुरु गरेका हुन् ।
पोखरा औद्योगिक क्षेत्रभित्र स्थापित गण्डकी नुडल्सले दक्षिण एसियामै व्यवसायिक रुपमा तैयारी चाउचाउ उत्पादन शुरु गरेको थियो । पोखरामा खुलेको चाउचाउ उद्योगबाट उत्पादित ब्राण्डहरुमा स्थानीयता झल्काउन उनले रारा, फेवा, रुपा जस्ता पोखराका तालहरुको नामबाट चाउचाउका नाम राखेका थिए ।ब्राण्डिङ भने रारा चाउचाउको गरियो । उत्पादीत चाउचाउको खपत बढाउन उनले धेरै मेहनत गरे । रारा चाउचाउको शुरुवातमा उल्लेखित विज्ञापन सिनेमा हलमा देखाउनका लागि बनाइएको थियो । गण्डकी नुडल्सलाई पछि हिमश्री फुड्स नामाकारण गरिएको हो ।
केही समयको अन्तरालपछि मुलुकमा धेरै चाउचाउ उद्योगहरु आए । एकसमय त महँगा उपहारको विज्ञापन, ‘प्राइस अण्डरकटिङ’ र फाइटर ब्राण्डहरु पनि खुबै प्रचलनमा आए तर ‘रारा’ को लोकप्रियता घटेन ।
२०५० को दशकमा बैंक तथा वित्तिय संस्था खोल्ने लहर थियो । सूर्यबहादुर केसीले पोखरामै केन्द्रीय कार्यालय रहेको माछापुछ«े बैंक खोले । यो नेपालको पश्चिम क्षेत्रमा खुलेको पहिलो वाणिज्य बैंक थियो । बिमा समितिले पहिल्यै आवेदन परेका बीमा कम्पनीहरुलाई लाइसेनस दिने भएपछि केसी ग्रुपले बीमा कम्पनी सञ्चालन गर्ने अनुमति पनि पायो र तीन वर्षअघि खुल्यो– सन नेपाल लाइफ इन्स्योरेन्स ।
सफल व्यवसायीका अलावा केसी राजनीतिकर्मी पनि थिए । पञ्चायतमा दरबारसँग केसी परिवारको निकट सम्बन्ध थियो । बहुदल आएपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आवद्ध भए र सांसद् पनि भए । तीन वर्ष अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरे । राष्ट्रिय निर्वाचनपछि नेपाली कांग्रेसले उनलाई समानुपातिकबाट संघीय प्रतिनिधिसभाको सदस्य पनि बनाएको थियो ।
गत जेठ ४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसमा आवद्ध उद्यमी, व्यवसायी समेटेर एउटा समिति गठन गरेका थिए– लगानी, पूर्वाधार र रोजगार समिति । त्यसै समितिका एक सदस्य थिए, केसी । नेपाली कांग्रेसका सांसद् एवं उद्योगपति विनोद चौधरीको नेतृत्वको समितिमा रहेर केसीले जीवन पर्यन्त मुलुकको आर्थिक विकासमा योगदान गरे– आफैंले उद्यम व्यवसाय सञ्चालन गरेर, त्यसपछि नीति निर्माण तहमा रहेर ।
मधुमेह र उच्च रक्तचापका बिरामी केसी सोमबार आफ्नो इहलीला समाप्त गर्दै यस धर्तीबाट अस्ताए । उनको योगदान भने भरभर्राउँदो रापिलो सूर्य झैं सधैं चम्किरहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया