राजनीति

स्थानीय तह निर्वाचनको मत परिणाम उत्साहजनक : वर्षमान पुन

इकागज |
जेठ ४, २०७९ बुधबार १४:५० बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताए ।


उनले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिए । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भएपनि आन्तरिक मतभेदहरु मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको बताए ।

उनले भने, ‘हाम्रो पार्टीको तर्फबाट भन्दा उत्साहजनक छ । धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । हामी निर्णायक शक्ति हौँ । हामी स्थापित शक्ति हौँ । हाम्रो एजेण्डा देशमा स्थापित छ । त्यो एजेण्डा जनताले रुचाएको छ भन्नेकुरा पुष्टि भएको छ । अपेक्षा यो भन्दा अझ राम्रो थियो । तर हाम्रो कतिपय ठाउँमा उम्मेदवारहरु मिलाउने, आन्तरिक मतभेदहरु मिलाउनेमा हामी सकेनौँ । नत्र यो भन्दा राम्रो हुन्थ्यो ।’

नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको बताए। केही ठाउँमा माओवादीलाई मत नहालिएको भएपनि धेरै ठाउँमा गठबन्धन सफल भएको उनको भनाइ छ ।

गठबन्धनको औचित्य अझै रहेको भन्दै नेता पुनले प्रदेश र केन्द्रको निर्वाचनसम्म गठबन्धन जाने बताए ।  उनले पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने बताए ।


Author

थप समाचार
x