राजनीति

एमालेलाई हराउन मतगणनामा शान्तिपूर्ण धाँधली भइरहेको महासेठको आरोप

इकागज |
जेठ ४, २०७९ बुधबार १९:५ बजे

जनकपुरधाम – नेकपा एमालेका सचिव रघुवीर महासेठले मतगणनामा शान्तिपूर्ण धाँधली भएको बताएका छन् ।

मधेश प्रदेशका इन्चार्जसमेत रहेका महासेठले बुधबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहेपनि मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन शान्तिपूर्ण धाँधली गरिरहेको आरोप लगाए ।   


निर्वाचनमा नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै एमालेलाई हराउन स्थानीय निर्वाचनलाई सत्ता कब्जा गर्नेमाध्यम बनाएको उनको भनाइ थियो ।

महासेठले निर्वाचन सम्बन्धी नेपालको इतिहासमै कहिल्यै नभएका निर्णयहरु यसपटक भएको आरोप लगाउँदै भने सत्तारुढ गठबन्धनले एमालेलाई हराउन खसेको मतपत्रभन्दा पनि बढी मत फेला परेपनि त्यसलाई सदर गिन्ती गर्नेलगायतका निर्णय गरेर निर्वाचन अधिकृतसामू परिपत्र पठाइएको आरोप समेत लगाए ।

मधेस प्रदेशका धनुषा, सर्लाही, रौतहट, महोत्तरी, पर्सा, सिरहा र सप्तरी सहितका अधिकांश जिल्लामा मतपेटिकाभित्र बढी मतपत्र भेटिनु, कांग्रेसका लागि रि काउन्टिङ गर्नु र अन्य दलले रि काउन्टिङ माग गर्दा नगर्नु लगायतका क्रियाकलापले सत्ता गठबन्धनका प्रमुख दल कांग्रेसलाई जिताउन षडयन्त्र भइरहेको उनले बताए ।

‘रौतहटमा एमाले पक्षका १२ मतदान केन्द्रमा मतदान रद्द गराउनु, सर्लाहीको कडौना धनकौल, बागमती, बलरा र बरहथवामा एमाले कार्यकर्तामाथि आक्रमण गरी बुथ कब्जा गर्नु धनुषाको धनौजी, क्षिरेश्वरनाथ र मिथिला बिहारीसहितका पालिकामा खसेको भन्दा बढी मत भेटिनु भनेको एमालेलाई हराउन सत्तारुढ गठबन्धन दलबाट धांधली भएको हो ।’ उनले भने ।

उनले सत्ताको दुरुपयोग गरी कांग्रेसले एमालेबाट धनगढी नगरपालिकामा विजयी घोषणा भइसकेका उम्मेदवार हराएर आफ्ना उम्मेदवारलाई जिताउनु, जित्न लागेका एमालेका उम्मेदवारहरुलाई १०÷१० मतको मतान्तरले हराउनु लगायतका क्रियाकलाप अनुचित रहेको बताए ।


Author

थप समाचार
x