विदेशमा रहेका कोभिड संक्रमित नेपालीको उध्दारबाट पन्छियो सरकार
अब छुट्टै उडान नगर्ने
काठमाडौं : सरकारले अब विदेशमा कोभिड-१९ को चपेटामा परेका नेपालीको उध्दारका लागि छुट्टै हवाई उडान नगर्ने भएको छ । सिंहदरबारमा आइतबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले उध्दार गर्नु पर्ने नेपाली भए नियमित उडानबाटै गर्ने निर्णय गरको हो ।
‘अब कोहि नेपालीको उद्दार गर्नुपर्ने भए नियमित उडानबाटै समायोजन गरेर उध्दार गर्ने तथा उध्दारका लागि अब थप उडान नगर्ने निर्णय भएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले बैठकपछि भने ।
गुरागाईले हालसम्म १ लाख ३६ हजार २ सय १६ नेपालीको उध्दार भइसकेको र कुटनीतिक नियोगबाट उद्दारका काम सकिएको जानकारी आएकले त्यस्तो निर्णय भएको बताए ।
बैठकले कोभिड-१९ को महामारीका कारण बन्द गरिएका दक्षिण एसियालगायतका गन्तव्य स्थानहरूमा नियमित हवाई उडान सुचारु गर्न मन्त्रिपरिषद्मा आग्रह गर्ने निर्णय गरेको छ । हाल खुल्ला गरिएका नियमित उडानका अतिरिक्त दक्षिण एसियालगायतका अन्य उपयुक्त गन्तव्य स्थानहरूमा नियमित हवाई उडान सुचारु गर्न सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैठकले स्थानीय तहमा होम आइसोलेसनमा बसेका नागरिकलाई स्वास्थ्य परामर्श दिन स्थानीय तहका वडाबाट स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य परामर्श गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
बैठकले विदेशी कुटनीतिक कर्मचारीहरू नेपाल आउनलाई अनुमति भएकामा परिवारसमेत आउन पाउने गरी छुट दिन मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय भएको गुरागाईले बताए । त्यस्तै विदेशमा रहेका नेपालीहरुको शव व्यवस्थापन गर्न बाँकी रहेकाले शव नेपाल ल्याउन र व्यवस्थापन गर्न श्रम मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि समितिले गरेको छ ।
समितिको बैठकले हाल अन्तराष्ट्रिय सतह मार्गका १३ स्थानबाट नेपाल प्रवेश गर्ने व्यवस्था मिलाएकोमा अब बैतडीको झुलाघाटबाट पनि प्रवेश दिने निर्णय गरेको छ । त्यस्तै पर्यटन गतिविधिहरुलाई केहि खुल्ला गर्नका लागि केवलकार, जंगलसफारी लगायतका क्षेत्रलाई खुल्ला गर्न दिने निर्णय पनि बैठक गरेको छ । बैठकमा नेपालमा हाल कोरोना संक्रमणको अवस्थाका बारेमा पनि समिक्षा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गुरागाईंले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया