राजनीति

बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

इकागज |
जेठ ८, २०७९ आइतबार १८:२८ बजे

काठमाडौं । संसदीय सुनुवाई समितिले सरकारले तीन देशका लागि प्रस्ताव गरेको राजदूतहरुको नाम अनुमोदन गरेको छ । 

आईतवार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तावित बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो । 
सरकारले बंगलादेशको राजदुतमा घनश्याम भण्डारी, म्यानमारकालागि हरिश्चन्द्र घिमिरे र ओमानका लागि  डोरनाथ अर्यालको नाम प्रस्ताव गरेको थियो । 


समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको घोषणा गरेका हुन् । 

समितिको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रवृत्तिमा अध्ययनरत नेपालीहरुको संख्यालाई बढाउने र त्यहाँ देखिएका नेपालीहरुको समस्या समाधानमा केन्द्रित हुने बताए । साथै उनले नेपाल र बंगलादेशको सार्वजनिक कुटनीति र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पहल गर्ने बताए । 

त्यस्तै म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियानको रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । ओमानका लागि प्रस्तावित राजदूत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबीच भएका सम्झौताहरु कार्यान्वयन गर्न विशेष पहल गर्ने बताए । उनले थाती रहेका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौताहरुलाई अघि बढाउन र दिव्पक्षीय सहयोग सम्झौताहरु कार्यान्वयन गर्न पनि पहल गर्ने बताए । 


Author

थप समाचार
x