राजनीति

मूल्यवृद्धि विरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी प्रहरीको नियन्त्रणबाट रिहा

इकागज |
जेठ १२, २०७९ बिहीबार १४:५४ बजे

मकवानपुर । मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रेको कारण प्रहरी गिरफ्तारमा परेका विद्यार्थी नेताहरु रिहा भएका छन् ।

मूल्यवृद्धिको विरोधमा मकवानपुर जिल्लाको हेटौंडा बजारमा आज सरकारी नम्बर प्लेट भएको सवारी नियन्त्रण गरी प्रहरीलाई चाबी बुझाउने कार्यक्रम अन्तरगत सडकमा उत्रेका अनेरास्ववियुका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सरकारले गरेको मूल्यवृद्धि विरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज आयोजना गरेको देशव्यापी विरोध कार्यक्रम अन्तरगत हेटौंडामा सवारी नियन्त्रणको प्रयास गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

आन्दोलनका क्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल सहित जिल्ला कमिटी उपाध्यक्ष भुवन मैनाली,  जिल्ला कमिटी सचिव पुस्कर तिम्ल्सिना र युवा संघ नेता राजकुमार घिमिरेलाई प्रहरीले  गिरफ्तार गरेको थियो ।

आज बिहान मकवानपुर बहुमुखी क्याम्पस सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका उनीहरुलाई केही बेर अघि छाडिएको छ ।
सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनेरास्ववियुले विभिन्न चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रमहरु जारी राख्ने जनाएका छ।

सरकारले आइतबारबाट पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ । यो संगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ र ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

प्रहरीले विद्यार्थी नेताहरूलाई पक्राउ गर्नुअघिसम्म १० वटा सरकारी सवारी साधनहरूलाई नियन्त्रणमा लिएको र नियन्त्रणमा लिएको सवारीको चाबी प्रहरीमा बुझाउने कार्यक्रम रहँदै गर्दा विद्यार्थी नेताहरू पक्राउ परेको उनले जानकारी दिए ।



Author

थप समाचार
x