संसद्मा ओलीकाे ३ घण्टा : नीति कार्यक्रमको समीक्षामा भन्दा धेरै समय विपक्षीमाथि खर्चिए
काठमाडौं– निर्वाचनपछि लामो समय मौन बसेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहिबार संसद्मा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा लामै बोले । उनले संसदमा करिब ३ घण्टा (२ घण्टा ५३ मिनेट) समय भाषण गरे ।
नीति कार्यक्रमको छलफलमा बोल्ने क्रममा उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको बारेमा मात्रै बोलेनन्, उनले विपक्षीप्रति आफूभित्र गुम्सिएको आक्रोश पनि पोखे । छलफलको सुरुवातमै स्थानीय तहको निर्वाचनबारे टिप्पणीबाट गरे । उनले निर्वाचन विनाको लोकतान्त्रिक व्यवस्था कल्पना गर्न नसकिने भन्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने मत राखे । अहिले समपन्न स्थानीय निर्वाचन निष्पक्ष हुन नसकेको उनले टिप्पणी गरे ।
उनले निर्वाचन मतपरिणाम १४ दिन सम्म पनि आउन नसकेकोमा आक्रोश पोखे । ‘चुनाव भएको १४ दिन भयो, मतपरिणाम किन आएन ?’ ओलीले प्रश्न गरे ‘निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन ।’ ओलीले निर्वाचनमा प्रतिपक्षलाई सिध्याउँछु भनेर सत्ता गठबन्धन लागेको भन्दै त्यो हक कहाँबाट आयो भन्दै प्रश्न गरे । ‘प्रतिपक्षलाई सिध्याउँछु भन्ने हक कहाँबाट आयो ?’ ओलीले प्रश्न गरे ‘चुनावमा जित्छौँ भन्न पाइन्छ तर गायब पार्छौँ, पत्तासाफ पार्छौँ, धुलो चटाउँछौँ भन्ने ?’
ओलीले सरकारलाई सत्ता र राज्य शक्तिको दुरुपयोग गरेर निर्वाचन गराएको पनि आरोप लगाए । उनले भने, ‘निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण हुनुपर्छ । निर्वाचन स्वच्छ, धाँधलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेका ठाउँमा प्रहरी निरीह बन्यो । राज्य संयन्त्रको दुरुपयोग गरेर यस्तो निर्वाचन त पञ्चायतले पनि गर्दैनथ्यो ।’
उनले कतिपयले मतदातालाई छेकेर मतदान गर्ने जान नदिएको समेत आरोप लगाए । ‘निर्वाचनमा कतिपयले बाटो छेकेर मतदान गर्न पाएनन् । यो मतदाताको मात्रै कुरा होइन,’ उनले भने, ‘लोकतन्त्र र मर्यादाको बाटो छेकियो । निर्वाचन प्रणाली र अभ्यासको बाटो छेकिएको हो । यो चानचुने कुरा होइन । यसको अर्थ लोकतान्त्रिक मूल्य मान्यता र अभ्यासको घाटी निमोठियो ।’
निर्वाचनमा सत्ता पक्षले पैसा बाँडेको समेत आरोप उनले लगाए । रुखमा भोट नहाल्ने गाउँपालिका /नगरपालिकामा पैसा नपठाउने सम्म भनिएको भन्दै अब देउवाको वडामा पैसा नजाने भयो भनेर ओलीले कटाक्ष गरे । ओलीले प्रधानमन्त्री देउवालाई अमरगढी त जितेको छ होइन भन्दै प्रश्न समेत गरे । ओलीको प्रश्न पछि देउवाले मुस्काउँदै छ भन्ने भाव जनाए ।
‘रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैनसम्म भने । अमरगढी जितेको छ कि छैन । देउवाको वडामा अब बजेट नजाने भो । अमरगढी नगरपालिकामा पैसा नजाने भो । लोकतन्त्रको योभन्दा हरिविजोग अरु के हुन्छ र ?,’ ओलीले देउवा तिर हेर्दै भने ।
लामो समय निर्वाचनका विषयमा टिप्पणी गरेका ओलीले माओवादी अध्यक्षलाई समेत कटाक्ष गर्न भ्याए । प्रचण्डलाई लक्षित गर्दै ओलीले चुनावमा फलानालाई भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्क्याएरै चुनाव जितेको आरोप लगाए । त्यो धम्कीले जनताले जनयुद्धको सम्झना गरेको ओलीको भनाइ छ । ‘चुनावमा यदि जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काए’ ओलीले भने ‘त्यहाँका मान्छेले द्वन्द्वकाल सम्झिए, त्यही चितवनमा बोरामा हालेर मान्छे फालेको सम्झिए । अनि विदेश गएको सम्झिएर जनताले थरथर काँपेर भोट हाले ।’
लामो समय निर्वाचनबारे टिप्पणी गरेका ओलीले सरकारप्रति पनि असन्तुष्टी पोखे । उनले सरकारले ल्याएको नीति कार्यक्रम स्पष्ट नभएको बताए । उनले नीति कार्यक्रमलाई शब्दजाल मात्रै भएको आरोप लगाए ।
सरकारले ल्याएको नीति कार्यक्रम नीति तथा कार्यक्रम ‘चास्नीमा नडुबाइएको जेरी’जस्तो भएको उनले बताए । ‘नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो छ’ उनले भने, ‘अर्थ ननिस्कने छ । यो सरकारकै त्यस्तै छ । जेरीजस्तै गुजुल्टिएको । कहाँ पुग्ने थाहा छैन ।’
उनले सरकारको नीति तथा कार्यक्रम टुक्का प्रयोग गर्दै ‘अर्थ न बर्थ गोविन्द गाइ भएको टिप्पणी गरे । ‘बुँदा न १३६ ले भ्रष्टाचार गर्ने प्रष्ट छ’ उनले बुँदा हेर्दै भने ’भ्रष्टाचार प्रवद्धन गर्ने भन्ने छ, के हो त्यो भनेको ?’ ’अर्थ न बर्थ गोविन्द गाइ भने जस्तो शब्द छ’ उनले भने । उनले टिप्पणी गरिरहँदा एमालेका सांसदले डेस्कमा ताली पिट्दै समर्थन जनाइरहेका थिए ।
अहिलेको सरकारको टिप्पणी गर्दै यसको कुनै नीति नभएको आरोप लगाए । उनले सरकार कहाँ पुग्ने भन्ने गन्तव्य नभएको समेत बताए । वर्तमान सरकार म्यादी सरकार भएको भन्नसम्म भ्याए । उनले राष्ट्रिय स्वार्थतर्फ यो गठबन्धन सरकारलाई कुनै मतलब नभएको आरोप लगाए ।
सरकारले विदेश नीतिमा खेलबाड गरेको समेत उनले आराेप लगाए । छिमेक सम्बन्धको संवेदनशीलता बुझ्नु भएको छ कि छैन भन्दै उनले सरकारलाई प्रश्न गरे ।
उनले नेपालको परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएको आरोप लगाए ।
‘हाम्रो परराष्ट्र नीतिलाई असन्तुलित, आवेगपूर्ण र गठबन्धनको सत्ता स्वार्थमा संकुचित बनाएको छ,’ ओलीले संसद बैठकमा भने । परराष्ट्र नीतिमा सरकार चुकेको आरोप लगाएका ओलीले सन्धि सम्झौता गर्दा प्रमुख प्रतिपक्षी दललाई जानकारीसमेत सरकारले नदिएको आरोप लगाए । आफ्नै देशमा आफू जाँदा अनुमति लिएको बताउँदै उनले विदेशीमन्त्रीले अनुमति लिनुपर्दैन भन्दै प्रश्न गरे ।
‘मैले आफ्नै देशभित्र पनि इजाजत लिएर, प्रशासनसँग इजाजत लिएर म हुम्लाको दुर्गम ठाउँमा गएँ,’ उनले भने, ‘अनि विदेशीमन्त्री आएर अनुमति लिनुपर्छ कि पर्दैन ? इजाजत लिनुपर्छ भने कसरी लिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? छिमेक सम्बन्धको संवेदनशीलता बुझ्नु भएको छ कि छैन ?’
ओलीले विदेशबाट एउटा सहायक मन्त्री नेपाल आउँदा सरकार थरथर भएको समेत आरोप लगाए । ‘एउटा विदेशबाट सहायक मन्त्री नेपाल आउँदा सरकार थरथर भएर तीन दिन काम ज्वरो हट्दैन’ ओलीले भने ‘कसरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुहुन्छ ?’
ओलीले कांग्रेससँग सरकारमा जाने र सत्ता टिकाउने बाहेक कुनै नीति नभएको बताए । ‘कांग्रेससँग जनताका लागि कुनै नीति नै छैन,’ उनले भने, ‘कांग्रेससँग सरकारमा जाने र सत्ता टिकाउने बाहेक कुनै नीति छैन ।’
ओलीले नीति तथा कार्यक्रममा नेपाली कांग्रेसले पहिचान गुमाएको बताए । अहिलेको सरकारले एमालेले ल्याएको नीति तथा कार्यक्रमका केही कार्यक्रम हटाउने आँट नगरेको ओलीको भनाइ छ । ‘एमालेको कार्यक्रमलाई हटाउने आँट पनि छैन’ ओलीले भने ‘संशोधन गरेर हटाउन मिल्छ भने हटाए हुन्छ ।’
संसद्मा बोल्ने क्रममा ओलीले पूर्वप्रधानमन्त्री र नेताहरूलाई आफुले जस्तै सबै सम्पत्ति राज्यको नाममा हस्तान्तरण गर्न च्यालेन्ज समेत गरे । ‘मैले सबै चल अचल सम्पत्ति राज्यको नाम गरेको छु । मैले जसरी सबै सम्पत्ति राज्यमा हस्तान्तरण गर्ने कोही निस्किनुस् न । मलाई केही पूर्वप्रधानमन्त्री÷नेताहरूले भन्नुहुन्छ’ ओलीले भने ‘मैले सबै चल अचल सम्पत्ति राज्यको नाममा गरेँ भने किन भ्रष्टाचार गर्नु । आफु बदनाम भएर अरुलाई सम्पत्ति खुवाउँदिन ।’
ओलीले सरकारलाई वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न पनि चुनौती दिए । ‘वाइडबडीदेखि अन्यमा मलाई जोडियो । यसमा कसले सम्झौता ग¥यो, कसले भुक्तानी दियो ?’ उनले भने, ‘मैले त सम्झौता भएपछि अन्तिम किस्ता मात्र दिएको हुँ । ‘यसमा पनि भ्रष्टाचार भएको लाग्छ भने छानबिन गर्नुस्, को–को कसरी संलग्न छन् ।’ लामो समयको एमालेको अवरोध पछि खुलेको संसद्मा बोलेका उनले अन्त्यमा आपूmले राखेका प्रश्नको आलटाले होइन वास्तविक जवाफ आउने अपेक्षा राखेको भन्दै टुंगाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया