बागमती प्रदेशको दशौं अधिवेशनको बैठक जारी
फाइल तस्बिर
मकवानपुर । बागमती प्रदेशको दशौं अधिवेशनको बैठक प्रदेश राजधानी हेटौंडाको प्रदेश सभा भवनमा जारी छ ।
बैठकमा संसद सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको केही अध्यादेशहरु पेश भएको छ । विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ , प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशहरु पेश भएका छन् ।
बैठकमा बागमती प्रदेशको पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न भएको स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाइन् ।
बागमती प्रदेश सभाको दशौं अधिवेशनलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री शाक्यले लोकतन्त्र माथिनै प्रश्न उठ्ने गरी सत्ता गठबन्धनले निर्वाचनमा जित्नकै लागि सत्ताको दुरुपयोग गरेको बताएकी हुन् ।
उनले ५ दलीय गठबन्धनले एमाले एक्लै प्रतिस्पर्धा गर्नका लागि निर्वाचन आचारसंहिता विपरितको कामहरु गरेको बताईन् । उनले प्रदेश सभाको ५ वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्र माथि प्रश्न उठेको बताउँदै यसबाट सच्चिनु पर्ने बताईन् ।
उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गरिन् । उनले देशभर उच्च मूल्यवृद्धि भएको बताईन् । उनले देशभर उच्च महंगी बढ्दा जनताको दैनिक जीवनयापनमा समस्या भएको बताउँदै केन्द्र सरकार के गरेर बसिरहेको भन्दै प्रश्न समेत गरिन् ।
बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्र बानियाँले गठबन्धन सरकारले स्थानीय निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण सम्पन्न गरेको बताएका छन् ।
स्थानीय निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा बानियाँले केन्द्र सरकारलाई धन्यवाद व्यक्त गरे । उनले लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि गठबन्धन भएको दाबी गरे ।
यसैगरी बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले देशमा चरम महगी बढेको बताएका छन् । बागमती प्रदेश सभाको दशौं अधिवेशनमा बोल्दै सदस्यले गोसाईले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बढाउँदै कालोबजारी पक्षमा अघि बढेको आरोप लगाए ।
उनले सरकारले केहि दिन अघि पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाएर १८० पुर्याएको र केहि दिनमै २ सय रुपैयाँ पुर्याउने तयारी गरिरहेको दाबी गरे ।
उनले सरकार जनपक्षीय काममा नभई कालाबजारीको पक्षमा काम गरिरहेको दाबी गरे । उनले जनताले मल मागिरहेको अवस्थामा सरकार र कृषि मन्त्री कहाँ,के गर्दै छन् भनेर प्रश्न समेत गरे ।
बैठकमा अर्थ मन्त्री शालिकराम जमकट्टेल, स्वास्थ्य मन्त्री निमा लामाले बोलेका छन् । मन्त्री जमकट्टेलले बजारको माग अनुसारको जनशक्तिको विकासमा लागि पर्नुपर्ने आवश्यकता सरकारले मनन गरेको बताए । गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रमलाई विनियोजन विधेयक २०७९ लाई मार्ग दर्शकको रुपमा लिएको जमकट्टेलले बताए ।
बैठक अहिले पनि जारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया