राजनीति

बकैया गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्वाचित

इकागज |
जेठ १३, २०७९ शुक्रबार २०:११ बजे

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा गाउँ कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट कार्यपालिका सदस्यमा ६ जना निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट ३, नेपाली कांग्रेसबाट २ र स्वतन्त्रबाट १ जना कार्यपालिका सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत कार्यालय बकैयाले जनाएको छ । माओवादीबाट महिला सदस्यतर्फ दिपकुमारी विश्वकर्मा, राजकुमारी भोम्जन र दलित तथा अल्पसङख्यकमालक्ष्मीमाया माझी निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यतर्फ कांग्रेसकी सावित्री सेराली र सरिता माया जिम्बा निर्वाचित भएका छन् भने दलित तथा अल्पसङख्यकमा स्वतन्त्रबाट लोकेन्द्र बहादुर माझी विजयी भएका छन् ।


यससँगै बकैया गाउँपालिकाको गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । नेकपा एमालेले कार्यपालिका सदस्यमा महिला ४ र दलित तथा अल्पसङख्यकमा २ जनालाई उम्मेदवार बनाएको थियो । बकैयाको गाउँ कार्यपालिकामा कुनै पनि पार्टीको एकल बहुमत छैन । गाउँसभामा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले आफ्नो बहुमत पुर्याउन सकेन । २० सदस्यीय कार्यपालिकामा कांग्रेस र माओवादीबाट ८–८, एमालेबाट ३, स्वतन्त्रबाट १ जनाको प्रतिनिधित्व रहनेछ ।

जहाँ बहुमतको लागि कम्तिमा ११ सदस्यको आवश्यकता पर्छ । गठबन्धन दल कांग्रेस र माओवादीको जोड्दा दुई तिहाई नै १६ जना सदस्य हुन्छ । बकैयाको ६२ सदस्यीय गाउँसभामा सबैभन्दा बढी नेपाली कांग्रेसको २८ जना, एमालेको २० जना र माओवादीको १४ जना प्रतिनिधि रहेका छन् ।

हालै सम्पन्न स्थानीय चुनावमा गठबन्धनबाट कांग्रेसले गाउँपालिकाको अध्यक्षसहित ५ वडाअध्यक्ष जित्दा माओवादीले उपाध्यक्ष सहित ४ वटा वडा जितेको थियो भने एमालेले ३ वटा जितेको थियो ।


Author

थप समाचार
x