स्थानीय तह निर्वाचन परिणामविरुद्ध उच्च अदालतमा १४ वटा मुद्दा दायर
जनकपुरधाम – वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भएको मत परिणामविरुद्ध मधेश प्रदेशका उच्च अदालत जनकपुरधाममा १४ वटा मुद्दा दर्ता भएको छ ।
अदालतका सूचना अधिकारी कुवेर घिमिरेले शुक्रबारसम्म धनुषा, महोत्तरी र सर्लाहीसहितका जिल्लाका केही उम्मेदवारहरुले निर्वाचन परिणाममा चित नबुझ्दा निर्वाचन बदर गर्न चार र पुनः मत गणना गर्न १० वटा गरी १४ वटा मुद्दा दर्ता भएको जानकारी दिए ।
उनका अनुसार सर्लाहीका धनकौल गाउँपालिकाको तीन वटा मतदान स्थलको निर्वाचन बदर गरी पुनः निर्वाचन गर्न माग दावीसहित मुद्दा दर्ता गरिएको छ ।
नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्ष पदमा धनकौल ५ मा उम्मेदवारी दिएका फकिरा महतोले निर्वाचन बदर गर्न मुद्दा दिएका छन् । महतोसँगै उनी निकट रामअधार राय यादवले पनि वडा नम्बर २ र रामकिशोर ठाकुरले वडा नम्बर १ को निर्वाचन बदर गर्न मुद्दा दायर गरेका छन् ।
त्यस्तै, सर्लाहीकै हरिवन नगरपालिका ७ मा पुनः मतगणना गर्न माग गरिएको छ । नेकपा एमालेका उम्मेदवार निरधव्ज कार्की एक मतले निर्वाचित भएका छन् । एक मतले मात्रै पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार टीका जंङ्ग थापाले पुनः मतगणना गर्न माग गर्दै मुद्दा दर्ता गराएका छन् ।
मलंगवा नगरपालिका ११ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । पाँच मतले माओवादीका नन्दकिशोर राय निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवलाई पराजित गरेका छन् । पानो देवीले यस वडामा पुनः मतगणना गर्न माग गर्दै मुद्दा दिएकी छन् ।
महोत्तरीको पनि ६ वटा मुद्दा दार्ता भएको छ । बर्दिबस नगरपालिका ८ को निर्वाचन बदर गर्न मुद्दा परेको छ । माओवादीका उम्मेदवार समशेर सिंहसँग एक मतले पराजित भएका एमालेका उम्मेदवार रुद्र बहादुर किंगारिंग मगरले निर्वाचन बदरको माग गर्दै मुद्दा दर्ता गराएका हुन् ।
बर्दिबास १४ मा पनि पुनः मतगणनाको माग गरिएको छ । त्यहाँ स्वतन्त्र उमेदवार विजय कुमार महतो संग एक मतले निर्वाचित भएका कांग्रेसका उम्मेदवार भरत बहादुर हमालले मुद्दा दर्ता गराएको छ भने महोत्तरीकै भंगहा ७ मा एक मतले नेपाली कांग्रेसका उम्मेदवार नरेश साह सुनारसंग पराजित भएका माओवादीका उम्मेदवार राजेन्द्र प्रसाद सिंहले पुनः मत गणना गर्नु पर्ने माग गर्दै मुद्दा दर्ता गराएका छन् ।
सोही पालिकाको वडा नम्बर ८ मा पनि ६ मतले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सरिफ कवारीसँग पराजित भएको कांग्रेस उम्मेदवार रामबाबु राउतले पुनः मतगणना गर्न माग गर्दै मुद्दा दायर गरेका छन् । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका १ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । त्यहाँ एक मत लोसपाका रंजित चौधरीसँग पराजित भएका एमालेका उम्मेदवार मोहमद अनामुल राईनले मुद्दा दर्ता गराएका हुन् भने जिल्लाको एकडारा गाउँपालिका ४ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ ।
यता, धनुषामा पनि तीन वटा मुद्दा दार्ता भएको छ । जनकपुरधाम उपमहानगरपालिका १४ मा पुनः मतगणना गर्न माग गरिएको छ । यहाँ जसपाका पुण्य प्रताप यादव ९ मतले पराजित भएका नेपाली काँग्रेसका ब्रम्हदेव मिश्रले पुनः मतगणनाको मांग गर्दै मुद्दा गराएको सूचना अधिकारी घिमिरेले जनाएको छ ।
त्यस्तै मिथिला विहारी नगरपालिका ८ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । त्यहाँ एक मतले निर्वाचित जसपाका जिवछ यादवसँग पराजितभएका एमालेका सुरेन्द्र यादवले मुद्दा दर्ता गराएका हुन भने धनुषाधाम नगरपालिका ८ मा निर्वाचित एमालेका उम्मेदवार कपिलबहादुर बस्नेतसँग एक मतले पराजित भएका कांग्रेसका विनोददीप लामाले पुनः मतगणनाको माग गर्दै मुद्दा दर्ता गराएका हो ।
एमाले उम्मेदवार बस्नेतले ५ सय २२ मत ल्याएर निर्वाचित भएका हुन भने कांग्रेस उम्मेदवार लामा ५ सय १ मत ल्याइए एक मतले पराजित भएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया