राजनीति

केही संस्थाले छुवाछुत बचाइराखेका छन्, उजुरी दर्ता गर्न प्रहरी आनाकानी गर्छ : सांसद विश्वकर्मा

इकागज |
जेठ २७, २०७९ शुक्रबार १६:५६ बजे

काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले जातीय छुवाछुत तथा विभेदलाई केही संस्थाहरूले बचाइराखेको टिप्पणी गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा जातीय छुवाछुतविरुद्ध कानुन भए पनि मानिसहरूको दिमागमा विभेद कायमै रहेको बताए । 

‘जातीय छुवाछुत र विभेदका कुराहरू केही संस्थाले बचाइराखे छन् । विभेद हटाउन संविधान र कानुन निर्माण भए पनि मानिसहरूको दिमागमा विभेद कायमै छ,’ उनले भने, ‘पहिला-पहिला विद्यालयमा कुनै कार्यक्रम हुँदा शिक्षकहरूले दलित विद्यार्थीहरूलाई कोठाभित्र थुन्ने, गाग्रीबाट पानी खान नदिने चलन थियो । अहिले पनि देशका विभिन्न ठाउँमा यस्तो भइरहेकै छ । त्यसरी जातीय विभेद गर्ने शिक्षकलाई कानुन लाग्दैन ?’


सांसद विश्वकर्माले केही दिनअघि जातकै कारण ललितपुरको संस्कृत गुरुकुलमा भर्ना नपाएको प्रसंग संसद्मा स्मरण गरे । ‘अस्तिमात्र ललितपुरमा दलित भएकै कारणले चार जना बच्चाहरूले भर्ना पाएनन् । तीमध्ये दुई जना अहिले चितवनको गुरुकुलमा भर्ना भएका छन् । त्यो पनि तीन महिनाका लागि मात्र,’ उनले भने । 

उनले अहिले पनि मन्दिरमा दलितमाथि विभेद हुने कुरा सुनाए । मन्दिरमा जातकै आधारमा विभेद गर्ने पूजारीलाई किन कारबाही हुँदैन भन्दै प्रश्न गरे । ‘पूजारीले दलितलाई यो त दलित हो भन्दै भित्र पस्न दिँदैन । त्यहाँ पूजारीकै हैकम चल्छ । त्यो पूजारीलाई देशको कानुन लाग्ने कि नलाग्ने ?’

सांसद विश्वकर्माले दलित समुदाय प्रहरी प्रशासनबाट पनि पीडित भएको बताए । आफूमाथि जातीय विभेद भयो भनेर एउटा दलित प्रहरीकहाँ जाँदा उजुरी लिन प्रहरीले आनाकानी गर्ने गरेको उनले बताए ।

‘यसमा प्रहरीको पनि उत्तिकै हात छ । दलितहरू जब प्रहरीकहाँ पुग्छन्, प्रहरी केस दर्ता गर्न आनाकानी गर्छ,’ उनले भने ।


Author

थप समाचार
x