राजनीति

अध्यक्ष नेपालसँग गृहमन्त्री खाणको भेटवार्ता

इकागज |
असार ५, २०७९ आइतबार २०:५८ बजे

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले  आज भेटवार्ता गरेका छन् । 

एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए । 


भेटमा नागरिकता विधेयक चालू संसद्‍मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
    
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्‍मा पेस गरेर पास गर्ने तयारीस्वरूप दलका शीर्ष नेतृत्वसँग छलफल गरिरहेको छ । 

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक-पटक दलहरूसँग छलफल गरेका छन् । उनले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार दल नेकपा (माओवादी  केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नागरिकता विधेयकका बारेमा भेटवार्ता गरिसकेका छन् । 

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरिसकेको छ ।

नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अङ्गिकृत नागरिकतालगायतमा विषयमा सहमति जुट्न सकेको छैन ।


Author

थप समाचार
x