राजनीति

दक्षिण एसियाकै उत्कृष्ट नेपाली प्रहरीको राजनीतिकरणले साख गिर्‍यो : सांसद सिलवाल

इकागज |
असार ६, २०७९ सोमबार १६:८ बजे

काठमाडौँ - नेकपा एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्‍चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्‍ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले नेपाल प्रहरीलाई राजनीतिकरणबाट मुक्त गराउनुपर्ने बताएका हुन् । 


प्रधानमन्त्री प्रहरीको सरुवा, बढुवामा ध्यान दिनुभन्दा समग्र मुलुकको विकासमा समय खर्चनु उपयुक्त हुने उनको भनाइ छ । 

दक्षिण एसियाकै अनुसन्धान क्षमता र कार्यसम्पादन दक्षता उत्कृष्ट रहेको नेपाल प्रहरीको साख राजनीतिकरणले गिरेको भन्दै उनले प्रहरीलाई साधनस्रोत सम्पन्‍न र राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताएका हुन् । 

नेपाल प्रहरीका पूर्वडिआइजी समेत रहेका सांसद सिलवालले भने, ‘यु एनको एउटा अध्ययनले भनेको छ, सार्कमा सबैभन्दा राम्रो अनुसन्धान गर्न सक्ने क्षमता र दक्षता भएको नेपालको प्रहरी  हो । यो अभिलेखीकरण भएको छ । यस्तो प्रहरीलाई राजनीतिकरण गरिएको छ । मन खुसी बढुवा, सरुवा गरिएको छ । आ-आफ्‍नो मान्छे च्यापेको छ । प्रहरीलाई सक्षम र सवल बनाउनुहोस् । प्रधानमन्त्रीले डीएसपी, डिआइजी र आइजी बढुवा गर्नेमा लाग्‍ने होइन, मुलुकको समृद्धिमा लाग्‍ने हो ।’ 

गृहमन्त्रीले पनि एउटा व्यक्ति र संस्थाको मात्र होइन समग्र विकासमा लाग्‍नुपर्ने सिलवालको भनाइ छ । 


Author

थप समाचार
x